अवैध रुपमा सञ्चालन गरेको पाइएपछि तीन आइभिएफ सेन्टरमा लाग्यो ताला

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०८२, सोमबार

नेपालगन्जः अवैध रुपमा सञ्चालन गरेको पाइएपछि बुटवलका तीन आइभिएफ सेन्टर बन्द गराइएको छ । लामो समयदेखि अवैध तरिकाले सञ्चालनमा आएका वात्सल्यसहित आइभीएफ सेन्टरहरूमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुगमन गर्दै कारबाही गरेको हो। अनुगमनमा संघीय स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहे पनि अनुमति नै नलिई आइभिएफ सञ्चालन गरेको देखिएपछि कारबाही गरेको हो।

महिलाको डिम्बाशय र पुरुषको शुक्रकीट ‘फर्टिलाइजेसन’ गरी भ्रूण उत्पादन गराएर बच्चा जन्माउने आईभीएफ विधिका लागि अनुमति नै नलिई सञ्चालन गरेको पाइएपछि जिल्ला प्रशासनको नेतृत्वमा आएको स्वास्थ्य कार्यालय रुपन्देहीको टोलीले एक लाख रुपैयाँ जरिवानासहित अनुमति नलिदासम्मको लागि केन्द्रमा ताल्चा लगाएको स्वास्थ्य कार्यालय रुपन्देही वरिष्ठ ल्याब टेक्निसियन खिमलाल पाण्डेले बताए।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मिलन चोकमा रहेको वरदान आइभीएफ सेन्टर प्रालि, बुटवल ६ सुख्खानगर श्रवण पथमा रहेको वात्सल्य बुटवल क्लिनिक प्रालि र बुटवल १० राजमार्ग चौराहस्थित रहेको प्रनाभी आईभीएफ सेन्टर अवैध रूपमा सञ्चालन हुँदै आएको पाइएपछि एक एक लाख रुपैयाँ जरिवानासहित बन्द गराएको उनले बताए ।

मिलन चोकस्थित वरदानलाई इमर्जेन्सी बिरामी हेरेपछि बन्द गर्ने भनिएकोमा पछि २१ जना बिरामीहरूको जटिल समस्याको उपचार भइरहेको र धेरै क्षति हुने भएकाले ४५ दिनभित्र सञ्चालन अनुमति नलिए बन्द गर्ने चेतावनी दिइएको छ।

स्थानीय पालिकाबाट सामान्य परामर्शको दर्ता र अनुमति लिएको वात्सल्यलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ भने आइभीएफ सम्बन्धी काम गरेको पाइएमा तालाबन्दी गरी थप कानुनी कारबाही गरिने निर्देशन दिइएको पाण्डेले बताए।

  • ५ श्रावण २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech