नेपालगन्जः नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले बाँकेका चार वटा अस्पताललाई प्रेषण केन्द्रका रुपमा मात्रै कायम गरेको छ । भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, फत्तेवाल आँखा अस्पताल फुलटेक्रा र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई बीमा बोर्डले प्रेषण अस्पतालका रुपमा कायम गरेको हो । बोर्डको यो निर्णयसँगै अव यी अस्पतालले बीमामा आवद्ध भएका रिफर गरिएका बिरामीहरुलाई मात्रै उपचार सेवा प्रवाह गर्ने भएका छन् ।
भेरी अस्पतालले बुधवार सूचना नै जारी गरेर भोलिदेखि बीमा कार्यक्रम सञ्चालन गर्ने अन्य स्वास्थ्य संस्थाको प्रेषण पूर्जा सहित उपचार गर्न आएका बिमितलाई मात्रै उपचार सेवा प्रदान गरिने जानकारी गराएको छ ।
भेरी अस्पतालले आफ्नो सूचनामा भनेको छ–‘स्वास्थ्य बीमा अन्तर्गत सेवा लिन इच्छुक बिमित सेवाग्राहीहरुले सम्वन्धित स्वास्थ्य संस्था वा प्रथम सेवा केन्द्रबाट प्राप्त आधिकारिक प्रेषणपूर्जा लिएर आएको खण्डमा मात्र भेरी अस्पतालमा स्वास्थ्य बीमा सेवा लिन सकिनेछ ।’
बीमा बोर्डले बाँकेमा प्रथम सेवा विन्दुका रुपमा नगर अस्पताल कोहलपुर, लक्ष्मणपुर प्राथमिकता स्वास्थ्य केन्द्र नरैनापुर, खजुरा प्राथमिकता स्वास्थ्य केन्द्र र बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई तोकेको छ । बिमित बिरामीहरुले पहिलो चरणमा प्रथम सेवा विन्दुबाट सेवा लिनु पर्नेछ ।
प्रथम सेवा विन्दुबाट रिफर भएका बिरामीहरुले प्रेषण केन्द्रका रुपमा रहेका भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, फत्तेवाल आँखा अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल मध्ये जुनसुकै बाट सेवा लिन पाउने छन् ।
बीमा बोर्डको यो निर्णयले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर जस्ता बिरामीहरुको चाप बढी हुने अस्पतालमा घण्टौं लाइन लाग्नुपर्ने बाध्यता टर्ने भएपनि नागरिकहरुले प्राप्त गर्ने गुणस्तरीय स्वास्थ्य सेवा र सहजतामा पनि अफ्ठ्यारो पर्ने देखिएको छ ।
नेपालगन्जका बिमित नागरिकहरुले प्रथम सेवा विन्दुबाट सेवा लिन कोहलपुर, खजुरा कि त नरैनापुर जानुपर्ने अवस्था देखिएको छ । बीमा बोर्डको यो निर्णय अघि बिमितहरुले सिधै भेरी अस्पतालबाट सेवा लिने गरेका थिए ।