चितवन: भक्तपुर क्यान्सर अस्पतालमा विहीबारदेखि एकैपटक चार वटा सेवाहरु थप भएका छन् । अस्पतालमा सिस्टोस्कोप, इन्डोस्कोप, अपरेटिङ न्युरोमाइक्रोस्कोप र सि–आर्म एक्स–रे प्रणालीको विस्तार गरिएका हुन् ।
यी उपकरणहरूको प्रयोगद्वारा अब सिस्टोस्कोपी, इन्डोस्कोपी र न्युरो सर्जरी सम्बन्धी प्रक्रिया अत्यन्तै सुलभ, सुरक्षित र कुशलतापूर्वक गर्न सकिने भएको जनाइएको छ ।
विशेषगरी पेट, मुत्रथैली तथा मस्तिष्कमा हुने ट्युमरको पहिचान र उपचारमा यी उपकरणहरूले क्रान्तिकारी परिवर्तन ल्याउने अस्पताले जनाएको छ ।
नयाँ सेवाबाट क्यान्सरको प्रारम्भिक अवस्था, ब्ल्याडर क्यान्सर, पेटको आन्द्राको समस्या र मस्तिष्कको ट्युमरको उपचारमा विशेष राहत मिल्ने जनाइएको छ । विशेषगरी सिस्टोस्कोप मार्फत मूत्रनली र मूत्रथैलीको अवस्था हेर्न सकिनेछ ।
इन्डोस्कोपले पेट र आन्द्राको अवलोकन सहज बनाउनेछ । अपरेटिङ न्युरोस्कोपले मस्तिष्क र मेरुदण्डको जटिल शल्यक्रियालाई सम्भव बनाउनेछ । सिआर्म एक्सरे मेसिनले एक्स–रेमार्फत वास्तविक समयमै छायाँ हेरेर सर्जरी गाइड गर्न सकिनेछ ।
अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले सेवा विस्तारले रोगको जटिल अवस्था नपर्खीकन प्रारम्भिक अवस्थामा नै यसको सही निदान गर्न सक्षम भएको बताए । यसले उपचारको सफलतामा उल्लेखनीय वृद्धि ल्याउने विश्वास उनको छ । उपकरणहरूको जडानसँगै अब कतिपय प्रक्रिया जुन अघिसम्म अन्य ठूला अस्पताल वा भारतसम्म जानुपर्ने भएको तर अहिले भक्तपुरमै सम्भव भएको उनले बताए ।
शुभारम्भ कार्यक्रममा न्यूरोसर्जरी, युरोलोजी र ग्याँस्ट्रोइन्टेरोलोजीका क्षेत्रमा महारथ हाँसिल गरेका चिकित्सकहरू डा. बसन्त पन्त, डा. सुनिल शर्मा र डा. रोमियो कन्साकारको उपस्थित थिए । उनीहरूले नयाँ उपकरणहरूको अवलोकन पनि गरे । साथै यिनको सम्भावित प्रयोग र उपचारमा हुने फाइदाहरूबारे समेत सहकर्मी चिकित्सक र प्राविधिकहरूलाई जानकारी गराएका थिए ।
डा. बसन्त पन्तले अपरेटिङ न्युरोस्कोप जडानसँगै अब मस्तिष्कको सूक्ष्म शल्यक्रिया अझै राम्रो तरिकाले गर्न सक्षम हुने बताए । यसले रोगीको जीवनको गुणस्तरमा प्रत्यक्ष सुधार ल्याउने उनले बताए ।
काठमाडौं उपत्यकामा अवस्थित भए पनि भक्तपुर क्यान्सर अस्पतालले लामो समयदेखि क्यान्सरका बिरामीहरूको उपचारमा योगदान पुर्याउँदै आएको छ । तर पछिल्ला वर्षहरूमा अस्पतालले आफ्नो पूर्वाधार विस्तार थप विशेषज्ञ सेवा र प्रविधिमैत्री उपचार प्रणाली विकासमा उल्लेखनीय फड्को मारेको छ ।
डा उज्ज्वल चालिसे नेतृत्वमा पछिल्लो एक वर्षमा मात्र अस्पतालले धेरै नयाँ सेवा तथा विभाग थप गरेको छ, जसमध्ये आधुनिक उपकरणहरूको हालैको जडान अस्पतालको भिजन २०८५ अन्तर्गतको एउटा महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ ।
सेवा विस्तारले अस्पतालका बिरामीहरूको जीवनमा नयाँ आशाको किरण ल्याएको छ । साथै समग्रमा नेपालको क्यान्सर उपचार प्रणालीमा नै एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
कार्यक्रमको समापनमा निर्देशक डा.चालिसेले भने, ‘हामी प्रविधिको सदुपयोग गर्दै जनताको सेवामा समर्पित छौं । आगामी दिनमा भक्तपुर क्यान्सर अस्पताललाई राष्ट्रिय केन्द्र बनाउने हाम्रो लक्ष्य छ ।’