नेपालगन्ज: चालु आर्थिक वर्षको पुस यता एक हजार आठ सय भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट एक हजार ८६९ जनामा डेंगु पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार मनाङ, रसुवा, हुम्ला र डोल्पामा डेंगु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेंगु सङ्क्रमण सबै भन्दा बढी गण्डकी प्रदेशमा ४५१ जनामा पुष्टि भएको छ । त्यसैगरी, बागमतीमा ४३४, कोशीमा ३५०, लुम्बिनीमा तीन सय, सुदूरपश्चिममा २६४, कर्णालीमा ३६ र मधेशमा ३४ जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिए ।
चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन्।
त्यो बाहेक आँखाका उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्त हुने डेंगुका लक्षण हुन्।