यी ५ बानीहरु जीवनमा लागू गरौं, स्वस्थ रहौं

    • एसपी उप्रेती

  • २३ असार २०८२, सोमबार

अत्याधुनिक र अति नै व्यस्त जीवनैशलीमा हाम्रो स्वास्थ्य र खुशी चुनौती बनेका छन् । के तपाईंलाई पनि आफ्नो ख्याल राख्न गाह्रो भइरहेको छ ? यदि त्यसो हो भने यस लेखमा हामीले सामान्तया कसरी स्वस्थ राख्न सक्छौं भन्नेबारे पाँचवटा महत्वपूर्ण जानकारी पस्कँदैछाैं ।

जति धेरै स्वास्थ्य चुनौती छ त्यति नै धेरै हामी सचेत हुनुपर्ने हुन्छ । विश्वभर भएका विभिन्न अध्ययन, योगीहरु र चिकित्सकहरुका अनुसार हामीले आफूलाई स्वस्थ राख्न निम्न ५ वटा बानी अपनाउन सक्छौं । जसमध्ये कतिपय व्यवहार त हामीले लागू गरिरहेका पनि होलाऊँ ।

१. सन्तुलित भोजनः

मानिसको शरीरलाई जीवित राख्न मात्र नभएर हृष्टपुष्ट र मजबुत रहन सन्तुलित भोजन आवश्यक हुन्छ । यस किसिमको खानाले मात्रै हाम्रो शरीरका सबै अंगलाई चाहिने तत्वहरु प्रदान गर्न सक्छन् । जसले गर्दा हामीलाई स्वस्थ बन्न सघाउँछ । अब कुरा आउँछ सन्तुलित भोजनमा के के पर्छ त ? सन्तुलित भोजन भन्नाले विशेषत पाँच किसिमका खानालाई सन्तुलित तरिकाले मिलाएर सेवन गर्ने खाना भन्ने बुझिन्छ ।

जसमा प्रमुख भनेको शक्तिवर्द्धक खाना कार्बोहाइड्रेट हो । चामल, गहुँ जस्ता अन्न र आलु समावेश हुनुपर्छ । अर्को हो, शरीर वृद्धि गर्ने खानेकुरा प्रोटिन र क्यालसियमयुक्त खाना जस्तै माछामासु, दाल, गेडागुडी, दूध र दूधजन्य पदार्थ । त्यस्तै, चिल्लो पदार्थमा घिउ, तेल, बोसो । चौथो समूहमा पर्ने खाना भनेको शरीरलाई सुरक्षा दिने भिटामिन युक्त खाना जसमा सागसब्जी तथा फलफूल पर्छन् भने पाँचौं समूहमा विभिन्न खनिज पदार्थहरु पर्छन् ।

यस प्रकारका खानाले मानिसको सर्वांगीण विकासमा सहयोग पुग्ने तथा स्वस्थ रहन मद्दत गर्दछन् । सन्तुलित आहारमा छुटाउनै नहुने कुरा पानी हो । नियमित सफा पानी पर्याप्त पिउन जरुरी हुन्छ । जसले समग्र पाचन प्रणालीलाई बलियो बनाउँछ भने मस्तिष्कमा रगतको सञ्चार गराइ शक्ति प्रदान गर्छ ।

२. नियमित शारीरिक अभ्यास

हाम्रो शरीरलाई चलायमान बनाउन आवश्यक छ । जसले शरीरका अंगहरुमा रक्त प्रवाह राम्रो भइ प्रत्येक कोषहरु सक्रिय रहन्छन् र हामीलाई स्वस्थ राख्न भूमिका खेल्छन् । शारीरिक अभ्यासमा आफूलाई जुन सहज हुन्छ त्यही गर्न सकिन्छ । जस्तै, योग, ध्यान, जिम जाने, हिँड्ने कुद्ने आफूलाई जे सजिलो र आनन्द आउँछ त्यही गर्ने । स्वास्थ्य अनुसन्धानअनुसार दिनमा कम्तिमा पनि ३० मिनेट र हप्तामा कम्तिमा ३ दिन शारीरिक अभ्यास गर्नुपर्ने हुन्छ ।

३. पर्याप्त सुताइ

आज मोबाइल, ग्याजेट र सामाजिक सञ्जालले हाम्रो निद्राको ढाँचालाई बिगार्न भूमिका खेलिरहेको छ । तर स्वस्थ रहन पर्याप्त निद्रा यति महत्वपूर्ण हो कि एक दिन यसको गडबडी भएमा हामीलाई केही दिनसम्म आलश्य र नैराश्य उत्पन्न गराउँछ । साथै निद्राको विकल्प पनि केही छैन । त्यसैले विभिन्न अनुसन्धानले के बताउँछन् भने वयस्क मानिसले २४ घण्टामा कम्तिमा पनि ७ देखि ९ घण्टा गुणस्तरीय निद्रा पुर्याउनुपर्छ ।

४. भावनात्मक ख्याल गर्ने

हामीले शारीरिक स्वास्थ्यबारे जुन चासो दिन्छौ भावनात्मक अवस्थालाई उतिकै नजरअन्दाज गर्छौं । तर स्वस्थ रहनु छ भने आफ्नो मन, भावना र विचारको स्थितिलाई पनि ख्याल गर्नुपर्छ । किनकी हामी जे सोच्छौं । त्यसले हाम्रो भावनात्मक अवस्थालाई प्रभाव पार्छ भने हाम्रो विचार र भावनाको कम्बिनेसने बानी वा स्वभावको निर्माण गर्छ । तसर्थ पूर्णरुपले स्वस्थ रहन हाम्रो बानी नै स्वस्थ किसिमको हुनुपर्छ ।

५. सकारात्मक सोच राख्ने

सकारात्मक सोच भएका मानिसहरु आफ्नो जीवनप्रति सन्तुष्ट हुन्छन् । यस्ता मानिसहरु आफ्नो स्वास्थ्यबारे ध्यान दिन्छन् । त्यस्तै, विभिन्न अध्ययनका अनुसार नकारात्मक सोच राख्ने मानिसहरुमा मानसिक समस्याको जोखिम बढी हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि सकारात्मक सोच अनिवार्य हो । जसका लागि आफ्नो जीवनमा भएका राम्रा कामलाई सम्झिने, अध्ययन गर्ने, मन लागेको कार्य गर्नाले सकारात्मक बन्न सहयोग गर्छ ।

  • २३ असार २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech