कोहलपुरः बाँकेको कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ११८ जना बिरामीलाई मासिक उपचार खर्च सहयोग गरेको छ । मिर्गौला डायलाइसिस, मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघात भएका ११८ जना बिरामीलाई मासिक ५ हजारका दरले आर्थिक सहयोग गरिएको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए ।
उनका अनुसार क्यान्सरका ८५ जना, मेरुदण्ड पक्षघात भएका १२ जना, मिर्गौला डायलाइसिस गर्दै आएका १६ जना र मिर्गौला प्रत्यारोपण गरेका ६ जना गरी ११८ जनालाई सहयोग गरिएको हो । त्यसैगरी संघीय सरकारले विभिन्न ८ वटा कडा रोगको उपचारका लागि एक लाख रुपैयाँसम्म दिने गरेको छ ।
मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया रोगको उपचारका लागि सहयोग गर्ने गरेको छ । पैसा अभावमा उपचार सेवा वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सरकारले स्थानीय सरकारको सिफारिसमा एक लाख रुपैयाँसम्म उपचार खर्च सहयोग गर्ने गरेको छ । त्यसका लागि चालु आर्थिक वर्षमा ९९ जनालाई सिफारिस गरिएको शाखा प्रमुख ठकुरीले बताए ।
क्यान्सरका ५८ जना, मुटु रोगका १८ जना, मिर्गौला डायलाइसिसका १४ जना, सिकलसेलका ६ जना र मेरुदण्ड पक्षघातका ३ जना बिरामीको सिफारिस गरिएको हो । त्यसैगरी प्रदेश सरकारले पनि दुई लाखसम्म सहयोग गर्ने गरेको छ । त्यसका लागि ३४ जना बिरामीको सिफारिस गरिएको छ । क्यान्सरका ३२, मुटुका १, मिर्गौला प्रत्यारोपणका १ जना गरी ३४ जनाको सिफारिस गरिएको हो ।