बर्दियामा डेङ्गु, कालाजार, स्क्रबटाइफसका बिरामी बढ्दै

    • स्वास्थ्य पेज

  • २२ असार २०८२, आईतवार

गुलरियाः बर्दियामा गत वर्षको तुलनामा यस वर्ष डेङ्गु, कालाजार, स्क्रबटाइफसजस्ता रोगहरू बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बर्दियाले आर्थिक वर्ष २०८०–८१ मा एक सय ४२ जनालाई डेङ्गु सङ्क्रमण पुष्टि हुँदा आर्थिक वर्ष २०८१–८२ मा भने एक सय ५० जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ ।

बर्दियामा गत आर्थिक वर्षमा चार जनामा देखिएको कालाजार यस आर्थिक वर्षमा ६ जनामा देखिएको छ । कामको सिलसिलामा भारतको विभिन्न सहरमा जाने र काम गरेर फर्कदा विभिन्न रोगहरू लिएर फर्कनेको सङ्ख्या बढी भएका कारणले बर्दियामा डेङ्गु, कालाजार स्क्रवटाइफसजस्ता बिरामीहरू बढेको देखिन्छ ।

लामखुट्टेले टोकेमा डेङ्गुको प्रकोप बढ्ने र भुसुनाले मानिसलाई टोकेमा कालाजार हुने भएकाले यसबाट सतर्क रहन सचेत रहन स्वास्थ्य कार्यालय बर्दियाले अनुरोध गरेको छ । भारतमा कामका लागि गएका नेपालीले फर्कदा डेङ्गु सङ्क्रमण लिएर फर्कने गरेका कारण बर्दियामा डेङ्गु सङ्क्रमणको प्रकोप बढेको देखिएको स्वास्थ्य कार्यालय बर्दियाका विष्णु वैश्यले बताए ।

वर्षायामको समयमा उमेर पुगेका भन्दा साना बालबालिकामा डेङ्गु रोगको सङ्क्रमण बढेको बर्दिया अस्पतालका बालरोग विशेषज्ञ विश्वनाथ शाहले जानकारी दिनुभयो । विगतका वर्षमा भन्दा यस वर्ष डेङ्गु सङ्क्रमणका बिरामी बढ्दै जान थालेका कारण सबै सजग हुनुपर्ने खैरापुर स्वास्थ्य चौकीका प्रमुख जनकनाथ योगीले बताउनुभयो ।

  • २२ असार २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech