सल्यान : जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष स्वास्थ्य सेवा सुरु गरिएको छ । विहीबार एक कार्यक्रमकाबिच इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियोग्राफी सेवाको औपचारिकरूपमा सुरुवात गरिएको हो ।
यस प्रकारका विशिष्ट स्वास्थ्य सेवाका लागि यसअघी अन्यन्तै जानुपर्ने बाध्यता रहेकोमा जिल्लाबाटै सुविधा उपलब्ध गराउने उद्देश्यसहित अस्पतालले नयाँ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावल, अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद श्रेष्ठले बोल्दै स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि यस्ता सेवा विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. अर्जुन बुढाले सेवा प्रारम्भ भएको जानकारी गराउँदै नियमित रूपमा गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अस्पतालका अनुसार पेट र अन्ननलीको भित्री भागको भिडियो परीक्षण, अपच, ग्यास्ट्रिक, अल्सर, रक्तश्राव आदि समस्याको निदानका लागि इन्डोस्कोपी सेवा सुरु गरिएको हो ।
यस्तै, ठूलो आन्द्राको भित्री भागको परीक्षणलगायत रोगको पहिचानका लागि कोलोनोस्कोपी सेवा र मुटु रोग पहिचानका लागि इकोकार्डियोग्राफी सेवा उपयोगी हुने बताइएको छ ।
रोगको छिटो निदान र उपचारले बिरामीको जीवनस्तरमा सकारात्मक सुधार हुने भएकाले सल्यान अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिएको हो ।