बाजुरामा कुपोषणबाट दुई बालबालिकाको मृत्यु, उपचारात्मक खानाको अभाव

    • स्वास्थ्य पेज

  • १६ असार २०८२, सोमबार

धनगढीः बाजुरामा कुपोषणबाट दुई बालबालिकाको मृत्यु भएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोट गाउँमा उपचारात्मक खाना (आरयूटीएफ) अभाव हुँदा १६ महिनाका सन्तोष न्यौपाने र १७ महिनाकी जमुना विकको मृत्यु भएको हो ।

चार महिनादेखि आरयूटीएफ अभाव भएको मुक्तिकोट स्वास्थ्य चौकीका इन्चार्ज बिर्ज विकले जानकारी दिए । आरयूटीएफ नहुँदा गाउँमा रहेका २५ जना कुपोषित बालबालिकाको ४ महिनादेखि उपचार रोकिएको छ । दुवैजनाको केही महिना अगाडि मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य संस्थामा २ जना मृत्युको रेकर्ड भएपनि गाउँमा भने ५ जनाको मृत्यु भएको स्थानीय बताउँछन् ।

‘आरयूटीएफ अभाव भएको गाउँपालिका र स्वास्थ्य कार्यालयलाई समयमै जानकारी गराएका थियौं, तर कतैबाट नआएपछि २५ जना कुपोषित बच्चाको उपचार रोकिएको छ,’ चौकीका ईञ्चार्ज विकले भने ।

आरयूटीएफ स्वास्थ्य कार्यालयबाट पालिका हुँदै सम्बन्धित स्वास्थ्य संस्थासम्म पुर्‍याउने गरिन्छ । जिल्लाबाट नै नआएकाले पठाउन नसकेको स्वामिकार्तिक खापर गाउँपालिका स्वास्थ्य संयोजक भक्तबहादुर कैलाले बताए । केही दिनमा आरयूटीएफ पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

  • १६ असार २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech