तराईमा अत्यधिक गर्मी छ । जमिन तातिएपछि चिसोको खोजीमा जमिनबाहिर सर्प निस्कने गरेका छन् । त्यसैकारण जताततै सर्पको बिगबिगी छ । सर्पले टोकेका बिरामीहरू अस्पताल भर्ना हुने क्रम पनि बढ्दो छ ।
समयमै उपचार पाए सर्पले टोकेका बिरामी निको हुन्छन् । तर केही भने उपचार नपाउँदा अकालमा ज्यान गुमाइरहेका छन् । सर्पले टोकेका बिरामी दिनहुँ उपचारका लागि सरकारी अस्पतालमा पुग्ने गरेका छन् ।
सर्पले किन टोक्छ ?
सबै सर्प विषालु हुँदैनन् र सबैले मानिसलाई टोक्दैनन् पनि । मानिसलाई देखे सकेसम्म सर्प भाग्छन् । जिस्काए वा चलाए भने मात्र टोक्छन् । घाँसदाउरा गर्दा वा बाटो हिँड्दा सर्पलाई छुन वा कुचल्न पुग्यो भने मात्रै सर्पले डराएर मानिसलाई टोक्छ । करेत सर्प घरभित्र आउने गर्दछ । त्यो बेला निदाएको मानिसले निद्रामा नै हात खुट्टा चलाउँदा सर्पलाई लाग्यो भने टोक्न सक्छ ।
गोमन सर्प रिसाहा प्रवृत्तिको हुन्छ । थोरै मात्र चोट पुग्दा पनि यसले झम्टेर टोक्छ । गोमनबाट विशेष होसियार रहनु पर्दछ । सर्पलाई मार्नु हुँदैन । तिनले अप्रत्यक्ष रूपमा वातावरणमा फाइदा नै पुर्याएका हुन्छन् । मानिस, बस्तुभाउ, बालीनालीलाई बिगार्ने, कीरा फट्यांग्रा एवम् मुसा खाएर मानव समुदायलाई गुन लगाएका हुन्छन् ।
विषालु सर्प र अविषालु सर्प
विश्वमा करिब ३५ सय प्रजातिका सर्पहरू पाइन्छन् । जसमध्ये ६ सय प्रजातिका मात्र विषालु हुन्छन् । नेपालमा करिब ८० प्रजातिका सर्पहरू पाइन्छन् । जसमध्ये २१ प्रजातिका सर्पहरूमात्रै विषालु छन् । गोमन, करेत, राजगोमन, बाघेसाँप (रेसेल्स भाइपर) लगायत मुगा सर्प र लालकण्ठे सर्प प्रमुख विषालु सर्प हुन् ।
अंजिगर धामिन, बगाले, दोमुखे आदि सर्पहरू विष नभएका सर्पहरू हुन् । नेपालका २६ वटा जिल्ला सर्पदंशबाट प्रभावित छन् । प्रत्येक वर्ष एक हजार जनाले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् ।
सर्पको विषबाट अन्य रोगको पनि उपचार
सर्पको विषबाट प्रतिविष बनाएर उपचार गर्ने गरिन्छ । यस्तै, रगतमा ढिक्का हुने, कुष्ठरोग, बाथरोग आदि सञ्चो बनाउने औषधि बनाउन पनि सर्पको विष प्रयोग हुन्छ । उच्च रक्तचाप र अन्य मुटु रोगलाई निको पार्ने औषधि बनाउन पनि सर्पको विष प्रयोग गरिन्छ । न्युरोटोक्सिन विषलाई अत्यधिक मानसिक तनाव कम गर्न प्रयोग गरिन्छ ।
दाँतको उपचारमा चिरफार गर्दा हुने अत्यधिक रक्तस्रावलाई रोक्न रसेल्स भाइपरको विष नै प्रयोग गरिन्छ । सर्पको बोसोबाट तेल बनाई जिउ दुखेको, सुन्निएको, मर्किएको, पुरानो वा नयाँ घाउ आदिमा प्रयोग गरिन्छ र उक्त समस्याबाट मुक्ति मिल्दछ । आर्युवेदमा सर्प विषलाई दम, छारे रोग, अनिद्रा आदि रोग निको पार्न प्रयोग गरिन्छ । वैज्ञानिकहरू सर्पकै विष प्रयोग गरी क्यान्सर रोगलाई पनि निको पार्न सकिने भनी अनुसन्धान गरिरहेका छन् ।
सर्पले डसे के गर्ने ?
सर्पले टोकेका बिरामीको लक्षणबाट मात्र कुन जातिको सर्पले डसेको हो भन्ने प्रजाति पत्ता लगाउन गाह्रो हुन्छ । किनभने विषका प्रभाव मिल्न सक्छन् । यदि सम्भव छ भने सर्पको रंग, आकार वा टाउकोको बनावट नोट गर्नुपर्छ । तर, सर्प समात्ने प्रयास गर्नुहुँदैन । डसेको स्थान, विषको मात्रा, बिरामीको स्वास्थ्य र उपचारको समयले लक्षणको गम्भीरता निर्धारण गर्छ । सर्पले डसेमा डसेको अंगलाई स्थिर राख्नुपर्दछ । त्यसलाई मुटुभन्दा तल राख्नुपर्दछ र हिँड्डुल गर्नु हुँदैन ।
सवारीसाधन बिरामी स्वयंले चलाउनु हुँदैन । डसेको हात वा खुट्टालाई चलाउनुहुँदैन । धेरै कसेर बाँध्नुहुँदैन । यसले फाइदाभन्दा बेफाइदा बढी गर्छ । सर्पले टोकेको घाउलाई पहिले सफा गर्नुपर्छ । सानो कपडा वा ब्यान्डेजले छोपिदिने र गाउँघरमा सजिलै उपलब्ध हुने कपडा (जस्तैः साडी, तन्ना, सिरकको खोल, पातलो सल, पटुका आदि) वा तन्कने गुण भएको क्रेप ब्यान्डेजले टोकेको ठाउँभन्दा माथि हल्का बाँध्नुपर्छ ।
अनुहार, छातीमा डसेमा क्रेप ब्यान्डेज लगाउन मिल्दैन । ती अंगमा लोकल कम्प्रेसन प्याडको प्रयोग उपयोगी हुन्छ । सर्पले डस्नेबित्तिकै अत्तालिएर केहीले धारिलो हतियारले चिर्ने, काट्ने, डढाउने, औंला नै काट्ने गर्छन् । त्यस्तो कदापि गर्नुहुँदैन । यसले धेरै रगत बग्ने, संक्रमण हुने, रगतका नशा, स्नायु, मांसपेशीमा चोट पुग्ने र घाउ निको हुन समय लाग्छ । तर, फाइदा भने केही हुँदैन ।
अन्धविश्वासमा होइन, उपचारमा लाग्नुपर्छ
सर्पले डसेपछि अझै पनि गाउँघरमा धामीझाँक्री, तन्त्रमन्त्र तथा झारफुक वा गरुड ढुंगाको प्रयोग गर्ने जस्ता अन्धविश्वास रहेका पाइन्छन् । भुलेर पनि यसो गर्नुहुँदैन । सर्पले डसेपछि त्यसको औषधि भनेकै विष निष्क्रिय पार्ने औषधि प्रतिविष रक्तसार वा एन्टिस्नेक भेनम सेरममात्र हो ।
सर्पले टोकेका बिरामीको उपचार जहाँतहीँ हुँदैन । सर्पले टोकेपछि बिरामीलाई सान्त्वना दिँदै तत्काल अस्पताल पुर्याउनुपर्छ । तराईको दैनिक जीवनमा सर्पबाट पूर्ण रूपमा बच्न गाह्रो छ । ठूलो जुत्ता लगाएर खेतमा जाने, पञ्जा लगाएर घाँस दाउरा गर्ने, जहिले पनि पूरा कपडा लगाएर बस्नुपर्छ । तर, यी कुरा अव्यावहारिक हुन् । सधैं त्यो सम्भव पनि हुँदैन ।
सर्पहरू दिउँसोभन्दा राति बढी हिँड्छन् । त्यसैले राति हिँड्नु परे उज्यालो टर्च आदि बोकेर र खुट्टामा जुत्ता लगाएर हिँड्नुपर्छ । सर्पहरू बस्न सक्ने सम्भावित ठाउँहरू जस्तै: दाउराको चांग, पराल, ढुंगा तथा इँटा थुपारेको ठाउँमा चलाउनु परेमा पहिले लामो लठ्ठीले चलाउनुपर्छ । घर वरिपरि झ्याङ, भार जंगल र दुलोहरू भए सफा गर्नुपर्छ । घर वरिपरि खानेकुरा त्यसै फाल्ने गर्नाले मुसा, भ्यागुता खान सर्पहरू घरभित्र पस्छन् । सर्पबाट जोगाउन केटाकेटी माथि विशेष निगरानी राख्नुपर्छ ।