नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका आइतवारदेखि जेष्ठ नागरिकसँग अध्यक्ष विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । नसर्ने रोगको प्रभाव न्यूनीकरणमा जोड दिँदै जेष्ठ नागरिकहरुलाई घरदैलोमै सेवा दिने उद्देश्यका साथ शिविर सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार केसीले जानकारी दिए ।
शिविरको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बिरामीलाई पर्चा हस्तान्तरण गरेर सुभारम्भ गरे । त्यसक्रममा उनले कुनैपनि नागरिकहरु स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा नहुन भन्ने उद्देश्यले जेष्ठ नागरिकसँग अध्यक्ष विशेषज्ञ शिविर सुरु गरिएको बताए । बढ्दो उमेरमा विभिन्न खालका स्वास्थ्य समस्या आउने भएकाले घरमै सेवा दिन चिकित्सकको टोली आएको उनले बताए ।
वडा नं.१ मा रहेको खासकुश्मा स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा ९३ जनाको स्वास्थ्य परीक्षण गरिएको केसीले बताए । ४९ जनाको इसीजी गरिएको थियो ।
६२ जनाको सुगर र ६२ जनाको मिर्गौलाको समेत परीक्षण गरिएको केसीले बताए । जेष्ठ नागरिकहरुमा दम, प्रेसर, सुगर लगायतको जोखिम बढी हुने भएकाले त्यसको पहिचान गरेर आवश्यक औंषधि उपचार र स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको उनले बताए ।
नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरबाट कन्सल्टेन्ट फिजिसियन डा. अर्जुन गौतमको नेतृत्वको टिम शिविरमा खटिएको थियो । त्यसैगरी राप्तीसोनारी गाउँपालिका वडा नं.७ फत्तेपुरमा मानसिक स्वास्थ्य शिविर आयोजना गरियो । फत्तेपुर स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा ३२ जनाले सेवा लिएको थिए ।
उनीहरु मध्ये अधिकांशमा डिप्रेसन लगायतको समस्या देखिएको थियो । डा.सञ्जय रिसाल नेतृत्वको टोलीले विरामीको अवस्थाबारे चेकजाँच गरेको थियो ।