मुटुरोग उपचारमा अब्बल बन्दै सञ्जीवनी कलेज: पहिलोपटक बिरामीमा दुईतारे पेसमेकर, बिरामी स्वस्थ

    • प्रियास्मृति ढकाल/ समिरमान श्रेष्ठ ।

  • १३ असार २०८२, शुक्रबार

नेपालगन्जः नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा पहिलोपटक मुटुका एक जना बिरामीमा दुईतारे पेसमेकर प्रयोग गरिएको छ । सामान्यतया पेसमेकर दुई प्रकारका हुन्छन्, एकतारे (सिंगल च्याम्बर) र दुईतारे (डबल च्याम्बर)। सिंगल च्याम्बर पेसमेकरमा एउटा मात्र तार हुन्छ, जुन तार मुटुको तल्लो कोठामा जोड्ने गरिन्छ ।

सिंगल च्याम्बर पेसमेकरमा भेन्ट्रीकलमा एउटा तार गएको हुन्छ र डबल च्याम्बर पेसमेकरमा दायाँ अरिकल र भेन्ट्रीकलमा एक वटा तार भएको हुन्छ। यो एकतारे पेसमेकरभन्दा अझ बढी उपयोगी हुने चिकित्सकहरु बताउँछन् । सञ्जीवनी कलेजमा अहिलेसम्म बिरामीलाई एकतारे पेसमेकर नै प्रयोग गर्ने गरिएको थियो ।

तर सुर्खेत सिम्ता गाउँपालिका–८ का ३६ वर्षीय पुरुषमा दुईतारे पेसमेकर प्रयोग गरिएको अस्पतालका कार्डियो विभाग प्रमुख कार्डियोलोजिष्ट डा.कृष्णचन्द्र अधिकारीले स्वास्थ्य पेजलाई बताए । उनका अनुसार बुटवल पश्चिम सम्भवतः मुटुका बिरामीलाई सञ्जीवनी कलेजमा दुईतारे पेसमेकर प्रयोग गरिएको यो पहिलो केस हो । ती पुरुषमा मुटुको चाल अत्यन्तै कम थियो ।

मानिसको मुटुको चाल सामान्य अवस्थामा एक मिनेटमा ५० देखि १०० पटकसम्म धड्कन्छ । मुटुको नियमित धड्कनलाई ‘साइनस रिदम’ भनिन्छ । तर ५० भन्दा कम वा १०० भन्दा बढी चाल भयो भने समस्या निम्तन्छ । ती बिरामीको मुटुको चाल २८ देखि ४० पटकसम्म मात्रै धड्कने गरेको थियो ।

डा. अधिकारीले भने–‘मुटुको चारकोठाको बिचमा चाल निस्कने ठाउँबाट मुटुको चाल सही तरिकाले निस्कदा निस्कदै पनि मुटुको चाल पास हुने एभिनोडमा गडबडी आयो भने मुटुको चाल नै प्रवाह हुँदैन । त्यसलाई कम्प्लिट हार्ट ब्लक भनिन्छ । ती बिरामीलाई भएको कम्प्लिट हार्ट ब्लक हो । दुईतारे पेसमेकर राखेर मुटुको चाललाई नियमित बनाइएको छ ।’

कार्डियोलोजिष्ट डा.कृष्णचन्द्र अधिकारी ।

जेठ २६ गते अस्पताल भर्ना भएका उनको असार १ गते शल्यक्रिया गरिएको थियो । उनी अहिले डिस्चार्ज भएर घरमा आराम गरिरहेका छन् । उनी अहिले स्वस्थ रहेको भाइ विकास विसीले स्वास्थ्य पेजलाई बताए । एकतारे वा दुईतारे पेसमेकर राख्ने भन्ने कुरा बिरामीको समस्या हेरेर विशेषज्ञ चिकित्सकले निर्धारण गर्छन् । पेसमेकर भनेको व्यक्तिको मुटुलाई कृतिम चाल दिने यन्त्र हो ।

विभिन्न कारणले व्यक्तिको मुटुको चाल कम हुन्छ । व्यक्तिलाई आवश्यक पर्ने मुटुको चाल मुटुले उत्पादन गर्न सक्दैन । मुटुले चाल उत्पन्न गर्न नसक्दा रिगाँटा लाग्ने देखि होस् नै हराउने सम्मको अवस्था सिर्जना गर्छ । त्यस्तो व्यक्तिका लागि मुटुको चाल निकाल्ने यन्त्र नै पेस मेकर हो ।

सञ्जीवनी कलेजमा क्याथल्याव सेवा सुरु भएपछि करिव एक सय ५० वढी बिरामीले सेवा लिइसकेका छन् । स्थायी पेसमेकर ५, अस्थायी पेसमेकर १०, एनजियोग्राफी एक सय बढी र एनजियोप्लाष्टी सेवा ३० जना बढीले लिएको डा.अधिकारी बताउँछन् । यस्तै ७ जनाको मुटुको झिल्लीबाट पानी निकालिएको छ । यो गत मंसिर देखिको तथ्यांक हो ।

डा.अधिकारीको नेतृत्वमा दुई जना मेडिकल अधिकृत, दुई जना नर्स र दुई जना रेडियो टेक्निसियनको टिमले क्याथल्याव सेवा दिँदै आएको छ । मुटुमा समस्या भएका करिव ९५ प्रतिशत बिरामीको उपचार सञ्जीवनी कलेजमै सम्भव रहेको कार्डियोलोजिष्ट डा. अधिकारी बताउँछन् ।

  • १३ असार २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech