काठमान्डाै: उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ।
२०७९ माघ २३ गते गंगा गौतमले आफ्नो २८ महिनाकी छोरी प्रशंसालाई उपचारका लागि अस्पताल लगेको र उपचारमा लापरबाही गरिएका कारण उनको मृत्यु भएको दाबी अभिभावकले अस्पतालमै लामो समय आन्दोलन गरेका थिए। त्यसपछि नेपाल मेडिकल काउन्सिलमा उजुरी गरेका थिए। काउन्सिलले उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर्याउँदै चेतावनी दिने निर्णय गरेको थियो।
काउन्सिलको निर्णयमा भनिएको छ, ‘२८ महिनाकी प्रशंसा गौतम नामकी बालिकालाई हिमाल अस्पतालमा चिकित्सकको सल्लाह बमोजिम नियमित चेकजाँच र उपचार गरेको भएपनि रोगका कारण उत्पन्न जटिलता हुँदासम्म थप कुनै जाँच नगराएको र बिरामीको अवस्था जटिल भै अन्यत्र प्रेषण गर्दा सावधानी र न्युनतम उपचार विधि नअपनाएको र इन्ट्युबेशन नगरेको देखिएको हुनाले वालरोग विशेषज्ञ डा. जयदेव यादवलाई अब आइन्दा स्तरीय उपचार विधि प्रयोग गर्न तथा प्रेशण गर्दा उचित सावधानी अपनाउन निजलाई चेतावनी दिने।’
मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गरिएको थियो। उपभोक्ता अदालत गठन भएपछि गत चैतमा उक्त मुद्दा उपभोक्ता अदालतमा सरेको थियो।