नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री प्रदान गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा ११ जना शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री प्रदान गरिएको हो ।
विहीबार एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सहायक सामग्री हस्तान्तरण गरे। कृत्रिम हात, खुट्टा, एंकल क्याप, क्यालिफर लगायतका सामग्री प्रदान गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत आशा कुमारी शाहीले जानकारी दिइन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले अपांगता भएका ब्यक्तिहरुको सहयोग र बृत्ति विकासका लागि नेपालगञ्ज उपमहानगरपालिका गम्भीर र संवेदनशील रहेको बताउँदै यी सामग्रीले दैनिक जीवनयापनमा सहजता ल्याउने विश्वास ब्यक्त गरे । उनले लुम्बिनी प्रदेशमै पहिलोपटक नेपालगन्जले ग बर्गको अपांगता भएका ब्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको जानकारी दिँदै अल्बिनो भएकालाई पनि अर्को आर्थिक बर्षमा बीमा गरिदिने बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य मुजम्मिल हुसेन हलवाई, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख वरिष्ठ महिला विकास अधिकृत पबित्रा कुमारी पुरी, पालिका स्तरीय अपांगता सञ्जालका अध्यक्ष गोकर्ण आचार्य, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कमला कार्की, हितेश न्यौपाने लगायतको उपस्थिति थियो । पालिका स्तरीय अपांगता सञ्जालका उपाध्यक्ष भावुकजंग थापाले सहायक सामग्रीले आफूहरुलाई दैनिक जीवनयापनमा सहज हुने भन्दै खुसी ब्यक्त गरे ।
नेपालगन्ज उपमहानगरपालिकाले यस अघि यही आर्थिक बर्षभित्रै अपांगता भएका ५५ जनालाई विभिन्न संघसंस्थाको समन्वयमा आफ्नै स्रोतबाट सहायक सामग्री वितरण गरिसकेको महिला विकास अधिकृत शाहीले बताइन् ।