नेपालगन्जः भेरी अस्पतालमा आजदेखि स्तनपान परामर्शदाताहरुको लागि ३ दिने स्तनपान परामर्शकर्ताहरुको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा तालिम सुरु भएको हो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिम सुरु भएको हो ।
उक्त कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य सचिव श्रेष्ठले जन्मिने बित्तिकै जति सक्दो छिटो नवजात शिशुलाई आमाको दूध खुवाउनुपर्ने र त्यसका लागि आमाहरुलाई अनिवार्य परामर्श गर्नु पर्नेमा जोड दिइन् ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुबेदी पुडकोपना, ख्याउटेपना, बाल मृत्युुदर घटाउन तथ्यांक विश्लेषण गरी लक्षित समुहमा परामर्श केन्द्रित हुनु पर्नेमा जोड दिए ।
स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले स्तनपान तथा आमाबच्चाको सुधार गर्न आमा तथा बालबालिकालाई परामर्श सहित निरन्तर निगरानी गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा भेरी अस्पताल, बर्दिया अस्पताल, नेपालगन्ज मेडिकल कलेज, सन्जिबनी मेडिकल कलेज, आम्दा अस्पताल , युनिभर्सल मेडिकल कलेजबाट २५ जना सहभागीहरु रहेको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले जानकारी दिए ।