नयाँ स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभूत तालिम

    • स्वास्थ्य पेज

  • ३ असार २०८२, मंगलवार

नेपालगन्जः लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचीव दुर्गालक्ष्मी श्रेष्ठले समुदायस्तरमा स्वास्थ्य सेवालाई प्रभावकारी गराउन स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका हुने बताएकी छिन् ।

स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरी आयोजना गरिएको १० दिने आधारभूत तालिम समापनमा उनले सो कुरा बताएकी हुन् ।

समुदायसँग सबैभन्दा नजिक भएर काम गर्ने भनेको स्वास्थ्य स्वयंसेविका भएकाले उनीहरुले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

प्राप्त तालिमलाई समुदायस्तरमा पुगेर थप प्रभावकारी ढंगबाट उपयोग गर्न सुझाव दिँदै उनले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न आग्रह पनि गरिन् ।

सचिव श्रेष्ठले समुदायमा बालबालिका, महिला तथा किशोरावस्थाको स्वास्थ्य सुधारको लागि महिला स्वास्थ्य स्वयंसेविकहरु इमान्दारका साथ लाग्नुपर्नेमा जोड समेत दिइन् ।

बाँकेका नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका २५ जना नयाँ स्वयंसेविकाहरुलाई नेपालगन्जमा राखेर १० दिनसम्म तालिम प्रदान गरिएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई समुदायस्तरमा स्वास्थ्य सेवा प्रदान गर्न समुदायमा आबश्यक किट बक्स समेत हस्तान्तरण गरिएको थियो ।

  • ३ असार २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech