नेपालगन्जः नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेको छ। पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण अस्पतालमा जेठ ८ गते सम्पन्न भएको हो । कार्की उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् ।
संसारमै जटिल मानिने कलेजो प्रत्यारोपणका लागि नेपाल मेडिसिटी अस्पतालको नेतृत्वमा भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालको सहकार्यमा चिकित्सक टोली खटिएको थियो ।
कलेजो निकाल्ने प्रक्रिया झन्डै ९ घण्टा र प्रत्यारोपण १३ घण्टा लामो भएको अस्पतालले जनाएको छ । कलेजो दाता आयुष कार्कीका अनुसार परिवारले यसअघि दुई पटक भारत गएर प्रत्यारोपणको प्रयास गरेका थिए ।
‘हामी उपचारका लागि दुई पटक भारत गएका थियौं, तर त्यहाँ डाक्टरको परामर्श चित बुझेन,’ उनले भने, ‘बुबालाई जसरी पनि मिर्गौला र कलेजो प्रत्यारोपण गर्नै पर्छ भनेपछि हामी झन् आत्तियौं र नेपाल नै फक्यौं ।’
नेपालमै विश्वस्तरीय सेवा उपलब्ध रहेकाले नेपाल मेडिसिटी अस्पताल रोजेको उनले बताए । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा। उपेन्द्र महत्तोले यो सफलताले अब नेपालीहरुलाई कलेजो प्रत्यारोपणका लागि विदेश धाउनुपर्ने बाध्यता हटाउने विश्वास व्यक्त गरे ।
‘हामीसँग मल्टिडिसिप्लिनरी टिम भएकै कारण यस्तो जटिल शल्यक्रिया सम्भव भएको हो,’ डा महत्तोले भने । नेपालमा वार्षिक २०० जनासम्म कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख डा उमिद कुमार श्रेष्ठका अनुसार बिरामी ईश्वर बहादुर कार्कीको कलेजो मात्र होइन, मिर्गौलासमेत बिग्रिएको थियो ।
‘पेटमा पानी जम्ने, बेला बेलामा होस हराउने, रगत वान्ता हुने र बेहोस हुने जस्ता समस्यासँगै मिर्गौलाले काम गर्न छाडेको थियो,’ डा श्रेष्ठले बताए ।
यसअघि उनी नेपालका अन्य अस्पताल र भारतमा पनि प्रत्यारोपण प्रयास गरिसकेका थिए । तर जोखिम उच्च भएकाले अन्य अस्पतालहरूले प्रत्यारोपण नगरेका थिए ।
मेडिसिटीमा भने जोखिम स्वीकार गरेर सफल प्रत्यारोपण गरिएको चिकित्सक बताउँछन् । कलेजोकै कारण मिर्गौला बिग्रिएकाले हाल मिर्गौलामा समेत सुधार देखिएको अस्पतालले जनाएको छ ।
रमप्रत्यारोपणअघि नै बिरामीलाई जोखिमबारे अवगत गराइएको कलेजो प्रत्यारोपण सर्जन डा रामबाबु साहले बताए । ‘बिरामीको लामो इतिहास र जटिल अवस्थालाई मध्यनजर गर्दै हामीले चुनौती स्वीकारेर प्रत्यारोपण गरेका हौैं,’ उनले भने ।