नेपालगन्ज: पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा असार दोस्रो सातादेखि एमडी पढाई हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालबिच एमडी/एमएस पढाइका लागि यसअघि नै सम्झौता भएर फ्याकेल्टी निर्धारण भइसकेको थियो ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुबेदीका अनुसार असार दोस्रो सातादेखि मेडिसिन, सर्जरी,गाईनोक्लोजिष्ट र अर्थोपेडिक विभागमा एमडी पढाइन हुन लागेको हो । मेडिसिन र सर्जरीमा दुई/दुई जना तथा गाइने र अर्थोमा एक/एक जना विद्यार्थी एमडी अध्ययनका लागि भेरी अस्पतालमा आउने छन् ।
एमडी/एमएस विषयको अध्ययन सुरु भएपछि भेरी अस्पतालको सेवा प्रवाह अझ राम्रो हुने डा. सुवेदीले बताए । ‘अस्पतालमा अब उपचार सेवासँगै शैक्षिक गतिविधि पनि बढ्ने भएकाले स्वभाविक रूपले यसको स्तर ह्वात्तै माथि उठ्छ,’ डा. सुवेदीले भने ।
भेरी अस्पतालमा वर्षौँअघि देखी एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रयास भएपनि सार्थकता पाउन सकेको थिएन । भेरी अस्पतालमा मेडिसिन, सर्जरी, अर्थोपेडिक, गाईनोक्लोजिष्ट, पिडियाट्रिक, एनेस्थोलोजिष्ट, रेडियोलोजी, इएनटी र एमडिजिपीमा एमडी/एमएस विषयको पढाई सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो ।
तर अहिले भने चार वटा विषयको पढाई सञ्चालन गर्न न्याम्सले ६ जना विद्यार्थी भेरीमा पठाउन लागेको हो । यो पढाई सञ्चालनमा आएपछि भेरी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालका रुपमा रहनेछ ।
संघीय सरकारको मातहतमा रहेको अस्पतालमा साबिक मध्य र सुदूरपश्चिम क्षेत्रका २४ जिल्लाका बिरामी उपचारका लागि आउँछन् । अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले एमडी/एमएस विषयको पढाई सञ्चालन हुने भएपछि भेरी अस्पतालको उचाइ थप वृद्धि हुने बताए ।