तुलसीपुर पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०८२, मंगलवार

तुलसीपुरः तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले घोषणा गरे ।

घोषणा सभालाई सम्बोधन गर्दै शर्माले बालबालिकाहरूलाई नियमित रूपमा खोप दिएर देशका लागि स्वस्थ्य जनशक्ति तयार हुने बताए । उनले पूर्ण खोप सुनिश्चिताका लागि महिला स्वयम सेविका र स्वास्थकर्मीहरूको महत्त्वपूर्ण योगदान रहेको बताए।

तुलसीपुर उपमहानगरपालिकाले ६ वर्षदेखि लगातार पूर्ण खोप सुनिश्चितताको घोषणा गर्दै आएको छ । स्वास्थ्यकर्मी, महिला स्वयम सेविका, जिल्ला खोप समन्वय समितिका प्रतिनिधि टोलीले पालिकाका सबै वडाहरूमा पुगेर बालबालिकाले खोप लगाए वा नलगाएको खोजी गरेको थियो ।

जसमा खोप नलगाएका बालबालिका एउटा पनि नभेटिएको र आंशिक खोप मात्र लगाएका ७ जना बालबालिका भेटिएपछि पुनः छुटेका खोप लगाइएको पालिकाका जनस्वास्थ्य प्रवर्धनका शाखाका फोकलपर्सन विमल केसीले जानकारी दिए । सात जनालाई खोप दिएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाभित्र नौ हजार ८ सय जना बालबलिकाहरूले खोप लगाएका थिए । पालिकाभित्र ६५ वटा खोप केन्द्र रहेका छन् । खोप केन्द्रमा प्रत्येक महिना खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

  • २७ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech