रोल्पाः सरकारले २०७७ मा ‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअनुसार अस्पताल निर्माणको घोषणा गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ९६ पालिकामा एकसाथ ५ देखि १५ बेडसम्मका अस्पतालको शिलान्यास पनि गरे । कतै कामै सुरु भएको छैन, कतै अन्योल छ । रोल्पाको थबाङ गाउँपालिकाले भने अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । यहाँ पालिकाले सामुदायिक अस्पताल सञ्चालन गर्ने अन्तिम तयारी गरिसकेको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक तुलबहादुर पुनले भवन निर्माण कार्य सकिएको र अस्पतालको सेवा त्यहीँबाट सञ्चालन गरिएको जानकारी दिए । ‘हरेक स्थानीय तहमा निर्माण गर्ने १५ शय्याको अस्पताल भवन बनाउने सरकारको नीतिअनुसार हामीले भवन निर्माण गरिसक्यौं । अब यहीँबाट अस्पताल सेवा प्रवाह गर्छौं,’ उनले भने । त्यस्तै, रुन्टीगढी गाउँपालिकाले होलेरीमा यसअघि नै साबिकको प्राथमिक स्वास्थ्य केन्द्रका लागि नयाँ भवन निर्माण गरिसकेको छ । गाउँपालिकाले त्यसै भवनमा केन्द्र सञ्चालन गर्दै आएको छ । होलेरीमा रहेको स्वास्थ्य केन्द्रबाट प्रभावकारी सेवा विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले १५ शय्या बराबरको भवन निर्माण गरेको हो । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले त्यसै केन्द्रबाट अस्पतालले सेवा विस्तार गर्ने योजना रहेको बताए ।
त्रिवेणीको केन्द्र नेर्पा नजिकै अस्पताल भवन निर्माण अन्तिम अवस्थामा छ । पालिकाका स्वास्थ्य सेवा प्रमुख पूर्णबहादुर बुढामगरले १५ शय्याको अस्पताल भवन बनाउन स्थानीयले दान दिएको जग्गामा नै अस्पताल भवन निर्माण थालिएको बताए । उनका अनुसार अस्पताल भवन २४ रोपनी क्षेत्रफलमा निर्माण हुँदै छ भने ६० कोठाको भवन निर्माण हुनेछ । पालिकाभित्रको जनसंख्या र भूगोललाई आधार मान्ने हो भने यहाँ एउटा अस्पतालको खाँचो भएको प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईले बताए । उनका अनुसार हाल एक जना चिकित्सकबाट स्वास्थ्य चौकीमार्फत नै स्तरीय सेवा दिने गरिएको छ । त्रिवेणीका अध्यक्ष कर्णबहादुर बाँठामगरले अस्पताल भवन निर्माण भएसँगै सेवा विस्तार गर्ने बताए । ‘अस्पताल सञ्चालन गरेर जनताको स्वास्थ्य अवस्थाको सुधार गर्ने हाम्रो योजना छ । भवन निर्माण भएपछि स्तरीय सेवा दिनेछौं,’ उनले भने ।
त्रिवेणी जसरी परिवर्तन गाउँपालिकाले पनि भवन निर्माणको काम धमाधम गरिरहेको छ । परिवर्तनका प्रवक्ता एवं वडा २ का अध्यक्ष हरिप्रसाद बुढामगरले निर्माण व्यवसायीका कारण भवन बनाउन केही समय ढिला भए पनि अब अन्तिम चरणमा पुगेको बताए । ‘हामीले प्राथमिकता दिएरै अस्पतालको भवन बनाउन लगाएका हौं, अब छिट्टै नै भवन तयार हुनेछ,’ उनले भने ।
अस्पताल आफ्नै क्षमता र जनशक्तिले सञ्चालन गर्ने उद्देश्यले परिवर्तन गाउँपालिकाले आफ्नै खर्चमा एकजनालाई एमबीबीएस अध्ययन गर्न खर्च छुट्याएको छ । त्यसैअनुसार स्थानीय एक छात्रालाई पालिकाले नै खर्च दिएर अघिल्लो वर्षदेखि चिकित्सा विज्ञान पढ्न पठाएको हो । स्थानीयलाई छात्रवृत्ति प्रदान गरेर गाउँमै अस्पताल सञ्चालन गर्ने उद्देश्यले स्थानीय तहले नमुना कार्यअन्तर्गत एमबीबीएस अध्ययन गर्न सघाएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगरले बताए ।
रोल्पा नगरपालिकाले पनि एक जनालाई छात्रवृत्ति दिएर एमबीबीएस अध्ययन गर्न आर्थिक सहयोग दिने निर्णय गरेको छ । नगर प्रमुख सुरेन्द्र घर्तीमगरले नीतिगत रुपमा हरेक वर्ष एक जनालाई एमबीबीएस पढाउन सघाउन सकिनेछ । त्यसबाट आफ्नो क्षेत्रमा सञ्चालित रोल्पा अस्पताललाई सञ्चालन गर्न सजिलो हुने उनको विश्वास छ । तर जिल्ला अस्पताललाई प्रादेशिक क्षेत्राधिकार भित्र पार्ने हालको प्रावधान रहेको छ । यद्यपि अस्पतालमा जनशक्ति र अन्य सेवाका लागि नगरले पनि आर्थिक भार बेहोर्दै आएको नगरले जनाएको छ ।
यसरी पहिलो क्रममा अस्पताल निर्माण गर्नेमा थबाङ र रुन्टीगढी गाउँपालिका हुन् भने त्रिवेणी, माडी र परिवर्तनले पनि निर्माण कार्य सक्नै थालेका हुन् । तर माडीमा लामो समयसम्म जग्गा विवादले अदालतसम्मै मुद्दा लड्नुपर्यो । हाल मुद्दा जितेपछि मात्रै काम थालिएको छ । माडीका सूचना अधिकारी पहलमान वलीले मुद्दाको फैसला भएपछि काम थालिएको र धमाधम काम भइरहेको बताए । माडीका अध्यक्ष अमरसिंह घर्तीमगरले अस्पताल भवन निर्माणलाई पहिलो प्राथमिकता दिए पनि जग्गा विवाद र मुद्दा खेप्नुपर्दा समय लागेको बताए । ‘अब काम थालिएको छ । धमाधम काम भएपछि आउँदो वर्षमा भवन तयार हुनेछ भने चाँडै अस्पताल सेवा सञ्चालन गर्न सकिनेछ,’ उनले भने ।
सुनछहरी, लुंग्री, सुनिलस्मृति र सुकीदह गाउँपालिकाले भने भर्खरै अस्पताल भवन निर्माणको काम थालेका छन् । सुनछहरीमा भवन निर्माण कार्य सुरु भइसकेको छ । पहिलो चरणमा संघ र स्थानीयको ८ करोड बजेट छुट्याइएको गाउँपालिकाका प्रवक्ता अमरजित पुनले बताए । त्यस्तै सुकीदहमा डीपीआर सम्पन्न भइसकेको छ । हाल स्वास्थ्य चौकी रहेको जिनाबाङमै अस्पताल भवन बनाउने योजना छ । सुकीदहका सूचना अधिकारी तिलक केसीले डीपीआर भर्खरै भएकाले अब काम थाल्ने बताए ।
लुंग्री र सुनिलस्मृतिमा जग्गा खरिद गर्न र अन्य प्रक्रिया यथावतै भएकाले भवन निर्माण गर्ने कार्य सुरुआती चरणमै अड्किएको छ । विविध कारणले जिल्लाका विकट र कम विकसित मानिएका कतिपय स्थानीय तहले नै काम गर्न ढिलाइ गरेका छन्, जसका कारण स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेको छैन । सुनिलस्मृतिमा भने यसअघि नै प्राथमिक स्वास्थ्य केन्द्र भएकाले त्यसैबाट चिकित्सक समेतको सेवा प्रवाह हुने गरेको छ । पालिकाको केन्द्र सुलिचौरमा नै अस्पताल भवन बनाउन जग्गा खरिद र बजेट विनियोजन गर्ने प्रक्रिया सुरु भएको हो ।
‘एक स्थानीय तह, १५ शय्याको एउटा अस्पताल’ भन्ने सरकारको नारा र नीति अनुसार रोल्पाका १० स्थानीय तहमा धमाधम अस्पताल भवन निर्माण कार्य चलिरहेको छ । हरेक तहमा कम्तीमा एउटा अस्पताल सञ्चालन गर्ने नीति अनुसार यहाँका अधिकांशमा तहले अस्पताल भवन बनाउन थालेका हुन् ।
स्थानीय तहले भवन बनाउन तीव्र गतिमा काम गरिरहेका छन् । योजनाअनुसार कतै भवन निर्माण सकिएको छ भने कतै निर्माण कार्य सुरुवाती चरणमा छ । केहीमा भने भवन निर्माण कार्य आधाआधी जति भएको छ । सदरमुकाममा रहेको रोल्पा नगरपालिकाले यसअघि नै जिल्ला अस्पताल सञ्चालनमा भएकाले बेग्लै अस्पताल भवन बनाउने योजना बनाएको छैन । उसले जिल्ला अस्पताललाई नै साथ दिँदै आएको छ । यसबाहेक यसअघि नै प्राथमिक स्वास्थ्य केन्द्र रहेको होलेरीस्थित रुन्टीगढी गाउँपालिकाले पनि उक्त केन्द्रलाई सञ्चालन गर्दै आएको छ । त्यहाँ पनि छुट्टै अस्पताल भवन बनाउने योजना छैन । तर प्राथमिक केन्द्र रहेको पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिकाले भने १५ बेडको अस्पताल सञ्चालन गर्न भवन बनाउने कार्य अघि सारेको छ ।
स्थानीय तहको पुनःसंरचनापछि अत्यावश्यक अन्य सेवाझैं अस्पताल निर्माण गरेर सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको हुने भन्ने लक्ष्य र उद्देश्यअनुसार हरेक तहमा १५ शय्याको अस्पतालको अवधारणा अघि सारिएको हो । संघ सरकारले स्थानीय तहलाई अस्प्पताल भवन बनाउन केही बजेट प्रदान गर्ने भएपछि सबै तहले यो योजना अघि सारेका हुन् । त्यस क्रममा रोल्पामा केही तहले भने यसअघि नै भवन निर्माण गरेर अस्पतालसमेत सञ्चालन गरिसकेका छन् । सरकारले हरेक स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने नीति बनाउन र कार्यान्वयन गर्न निर्देशन दिएपछि रोल्पामा अस्पताल भवन निर्माण थालिएको हो ।
समस्या बजेटको
१५ शय्याको अस्पताल भवन बनाउन ढिला हुनुमा सबैभन्दा ठूलो कारण बजेट अभाव नै हो । स्थानीय तहको पुनःसंरचनापछि विकास भित्र्याउन प्राथमिकता चयन गर्ने क्रममा सडक निर्माणलाई पहिलो मानिएको थियो । त्यसैले अधिकांश तहले सडक निर्माण गर्ने कार्यलाई नै प्राथमिकता दिए । भवन बनाउन त्रिवेणीले १८ करोड, माडीले १८ करोड, परिवर्तनले १५ करोड बजेट छुट्याए । सबै काम टेन्डरमार्फत गरिएको छ । अन्य पालिकाले पनि करिब यही आकारले बजेट विनियोजन गरेका छन् । यसरी अस्पताल भवन बनाउनमै रोल्पाका स्थानीय तहले करिब डेढ अर्ब बजेट खर्चनुपर्ने अवस्था छ । अर्कातिर भवन तयार भएपछि अस्पताल सञ्चालन गर्न स्तरीय ल्याब सुविधासहित चिकित्सकहरुलाई नियुक्त गर्नुपर्ने हुन्छ ।
सरकारले स्थानीय तहमाथि नै उक्त जिम्मेवारी थप गरेकाले लामो समयसम्म चिकित्सकलाई नियुक्त गर्न नसक्ने गुनासो हुने गरेको छ । थबाङ, माडी, त्रिवेणी र रुन्टीगढीले चिकित्सक नियुक्त गरेर सेवा प्रवाह गरे पनि केही तहले बीचमै सेवा अवरुद्ध गर्न बाध्य भएको जनाएका छन् ।
‘गाउँमै अस्पताल हुनु राम्रो हो, तर सेवा दिन सकिने अवस्थाप्रति आशंका हुनु हुँदैन । अर्कोतिर सेवा स्तरीय र जनताले थेग्न सक्ने हुनुपर्छ । अहिलेको अवस्थामा स्थानीय तहले सरकारले योजना ल्याए अनुसारका अस्पताल सञ्चालन गर्न सक्नेछन् भन्न सकिने ठोस आधार छैन,’ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका नवौं तहका अधिकृत विशाल सुवेदीले भने ।