धेरै मानिस टाउको दुख्नेबित्तिकै ब्रेन ट्युमर भएको हो कि भनेर सोच्छन् । तर, टाउको दुख्नेबित्तिकै ब्रेन ट्युमर भइहाल्छ भन्ने छैन । टाउको दुखेका १०० जनामा परीक्षण गर्ने हो भने २ देखि ३ जनालाई मात्रै ब्रेन ट्युमर हुने सम्भावना हुन्छ । ब्रेन ट्युमरसँगै यससँग सम्बन्धित अन्य लक्षण पनि देखा पर्छन् ।
ट्युमर र क्यान्सर फरक चिज हुन् । मस्तिष्कसम्बन्धी जति पनि ट्युमर हुन्छन्, तिनलाई हामी ४ स्टेजमा वर्गीकरण गर्न सक्छौं । स्टेज ३ र ४ लाई हामी क्यान्सर भन्छौं, किनभने त्यसका लागि किमोथेरापी, रेडियोथेरापीजस्ता उपचार विधि चाहिने हुन्छ । शरीरका कोषिकाहरु असामान्य रुपमा बढ्दै गयो डल्लोजस्तो बन्छ र त्यसलाई क्यान्सर भनिन्छ ।
शरीरको अन्य भागको क्यान्सरको खास कारण अहिलेसम्म पत्ता लाग्न नसकेजस्तै मस्तिष्क क्यान्सरको पनि कारण पत्ता लाग्न सकेको छैन ।
तर, पहिलो कारण भनेको वंशाणुगत हो । यस्तै, अर्को कारण विकिरण हो । यस्ता विकिरण कतिपय उद्योगबाट निस्कन्छन् भने एक्स–रे या सिटी स्क्यान गर्दा तथा धेरैबेर घाममा बस्ने मानिसहरुमा पनि विकिरणका कारण क्यान्सर हुने सम्भावना हुन्छ । तेस्रो कारण भनेको खानपिन हो । मदिरा सेवन धेरै गर्ने मानिस, टाउकोमा चोट लागेकाहरु र संक्रमणले गर्दा पनि ब्रेन ट्युमरको जोखिम बढ्ने हुन्छ ।
लक्षण
ब्रेन ट्युमरको मुख्य लक्षण टाउको दुखाइ हो । यससँगै बान्ता पनि हुन्छ । टाउको दुख्ने र दुखाइको स्तर बढ्दै जाने हुन्छ । धेरैलाई टाउको दुखाइ केही घण्टामै निको हुन्छ । बढी नै दुख्यो र माइग्रेन भयो भने तीन–चार दिनसम्म लम्बिन सक्छ । र, त्यसपछि ठीक हुन्छ ।
तर, ब्रेन ट्युमर छ भने दुखाइ बढ्दै जान्छ र दुखाईसँगै अरु लक्षण पनि थपिन्छ । जस्तो, वाकवाकी लाग्ने, बान्ता हुने, छारे रोगजस्तो लक्षण देखिने, प्यारालाइसिसजस्तो हुने, आँखा देख्न या कान सुन्न कम हुने, थुक निल्न नसक्नेजस्ता लक्षण देखिन्छन्, जुन टाउको दुखाइसँगै जोडिन आउँछन् ।
कस्तो अवस्थामा चिकित्सकको परामर्श लिनुपर्छ ?
टाउको दुखाइले दैनिक काममा असर गरेको छ, बिहान उठ्नेबित्तिकै टाउको दुख्ने र बान्ता हुने क्रम बढ्दै गइरहेको छ, या टाउको दुखाइसँगै देख्न तथा सुन्न कम हुने, हिड्न गाह्रो हुनेजस्ता लक्षण देखिए डाक्टरकहाँ गइहाल्नु्पर्छ ।
यस्ता लक्षण छन् भने बेलैमा परीक्षण गर्दा रोग पत्ता लाग्छ र उपचार पनि सजिलो हुन्छ ।
तर, नेपालमा परीक्षणको प्रोटोकल न त सरकारसँग, न निजी अस्पतालसँग । जापानमा ४० वर्ष नाघेका व्यक्तिको मस्तिष्क र नशा जाँच अनिवार्य गरिएको छ । त्यसकारण अमेरिकाको तुलनामा जापानमा न्युरोसम्बन्धी रोगहरु चाँडो पत्ता लागेको देखिएको छ । तर, नेपालमा त्यस्तो छैन । त्यसैले मिल्दाजुल्दा लक्षण देखिएका छन् भने आफैंले चासो लिएर परीक्षण गराउन म सुझाव दिन्छु ।
उपचार विधि ट्युमर कुन स्टेजको हो, कुन ठाउँको हो र बिरामीको उमेर कति हो भन्ने कुराले उपचार प्रक्रिया निर्धारण हुन्छ । तर ट्युमरको उपयुक्त उपचार विधि भनेको त्यसलाई जरैबाट काटेर फाल्ने हो ।
तर, यसका पनि सीमितता छन् । मस्तिष्क यति संवेदनशील हुन्छ कि अलिकता पनि अन्य भागलाई धक्का लाग्यो भने प्यारालाइसिस हुने जोखिम रहन्छ । कतिपय ट्युमरमा शल्यक्रिया गर्न नसकिने अवस्थामा रेडियोथेरापी तथा किमोथेरापी विधि अपनाइन्छ ।
तर, हरेक ब्रेन ट्युमरलाई उपचार चाहिन्छ नै भन्ने छैन । हामी बिरामीलाई ६ महिना, वर्षदिनमा एक पटक बोलाउँछौं र एमआरआई गरेर ट्युमर बढे–नबढेको परीक्षण गर्छौं । ट्युमर बढेको रहेनछ भने केही गर्दैनौं । बढेको रहेछ भने सोहीअनुसार अघि बढ्छौं । एक वर्षमा एक मिलिमिटर पनि नबढेका ट्युमरलाई हामी केही पनि गर्दैनौं ।
ब्रेन ट्युमर हुनै नदिन के गर्ने ?
ब्रेन ट्युमर हुनै नदिने उपाय भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर, कतिपय कुरा छन्, तीबाट जोगिए यसको जोखिम घटाउन सकिन्छ ।
ब्रेन ट्युमरका कारणमध्ये विकिरण प्रमुख हो । धेरैजसो बिरामीहरु शरीरका कुनै पनि अंगमा समस्या आउनेबित्तिकै सीटीस्क्यान गरिदिन आग्रह गर्छन् । तर, जबसम्म जरुरत छैन र डाक्टरले गर्नुस् भन्दैनन्, तबसम्म आफ्नो रुचिमा विकिरणजन्य परीक्षण गराउनु हुन्न । यस्तै, उद्योगबाट निस्कने विकिरण, संक्रमण तथा टाउकोको चोटपटकबाट बँच्यो भने ब्रेन ट्युमरलाई धेरै हदसम्म जोगाउन सकिन्छ ।
नेपालको ब्रेन ट्युमरको उपचार अवस्था
पछिल्ला दशक ब्रेन ट्युमर पत्ता लगाउने सीटी स्क्यान, एमआरआई जस्ता अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्ति बढ्दै गएका छन् भने यस्तो सुविधा काठमाडौंबाहेकका ठूला शहरमा पनि थपिने क्रम जारी छ । यसैले रोग पत्ता लाग्ने क्रम पनि बढ्दै गएको छ । प्रविधिको कुरा गर्ने हो भने नेपालमा अन्तर्राष्ट्रियस्तरमा उपलब्ध ९९.९ प्रतिशत प्रविधि उपलब्ध छ ।
आज विश्व ट्युमर दिवस मनाइँदै छ । यस अवसरमा यो रोगका बारेमा जनचेतना फैलाउनु जरुरी देखिएको छ । प्रविधिको विकासका कारण ब्रेन ट्युमर भइसकेपछि पहिलाजस्तो भयावह अवस्था अहिले छैन । आउँदो एक–दुई दशकमा अवस्था यस्तो आउला, न्युरो सर्जरी पनि विना चिरफार सम्भव हुनेछ ।