राप्तीसोनारीमा अस्पताल गाउँमा, उपचार घर आँगनमै

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०८२, बिहीबार

तस्विर फाइलः प्रयोगशाला सेवा सुभारम्भ गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल ।

नेपालगन्जः कहिले हो बिनौनाबाट बिरामी बोकेर बाँसको डोकोमा चढाउँदै, कीचडमय बाटो पार गर्दै नेपालगन्ज पुर्‍याउँदा दिन सकिन्छ कि सकिँदैन भन्ने अनिश्चितता थियो । कहिले बर्खामा उर्लिएको खोलाको छेउमै एम्बुलेन्स फस्दा ज्यानको बाजी लगाएर मान्छेहरु आफन्तलाई काँधमा बोकी हिँड्थे । त्यसबेला बाँकेको राप्तीसोनारी गाउँपालिकाका बासिन्दाका लागि बिरामी हुनु भनेको जोखिमको अर्को नाम थियो ।

जिल्ला सदरमुकाम नेपालगन्ज या नजिकको सहरी क्षेत्र दाङ पुग्नु नै स्वास्थ्य उपचारको अन्तिम विकल्प थियो । तर, त्यहाँ पुग्न सजिलो थिएन । सडकहरू कच्ची थिए, स्वास्थ्य संस्थाहरू निकै टाढा थिए र दैनिक आयमा गुजारा चलाउने मानिसहरूका लागि यात्रा र उपचार खर्च चर्को चुनौती थियो । तर, आज गाउँमै अस्पताल छ, स्वास्थ्य चौकी छन्, प्रयोगशाला छन्, विशेषज्ञ शिविर छन् ।

जसले ग्रामीण जनताको स्वास्थ्य सेवा लिने जीवनशैलीमा नै परिवर्तन ल्याएको छ । राप्तीसोनारी–५ का ७० वर्षीय टिकाराम वली भन्छन्, ‘मेरो कान्छो छोरा २०६८ सालतिर बिरामी पर्‍यो, रातको दुई बजे गाउँबाट डोकोमा बोकेर निस्केका थियौं, बिहान ११ बजे मात्र नेपालगन्ज पुग्यौं । त्यतिबेलासम्म ऊ बेस्सरी सिकिस्त भइसकेको थियो । अहिले त हेर्नुस्, गाउँमै डाक्टर छन्, चेकजाँच हुन्छ, औषधि पाइन्छ ।’ वलीको भनाइ गाउँपालिकामा पछिल्लो समय भएको परिवर्तनको प्रतिबिम्ब हो ।

आजको दिनमा राप्तीसोनारी गाउँपालिकाको बैजापुरस्थित अस्पतालले गाउँकै नागरिकलाई अत्यावश्यक र जटिल स्वास्थ्य सेवा दिन थालेको छ । यस अस्पतालमा सामान्य स्वास्थ्य परीक्षणदेखि दाँत, कान, पाठेघर, सिकलसेल, मोतियाविन्दु, खोप, पोषण, मानसिक स्वास्थ्य र अन्य विशेषज्ञ सेवा नियमितरूपमा दिइन्छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार केसी भन्छन्, ‘हामीले जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्यौं । अहिले बिरामीलाई गाउँमै सेवा दिइने वातावरण बनेको छ ।

यसले न त उनीहरूलाई समयमै सेवा लिन वञ्चित गरेको छ, न त खर्चिलो यात्राको झन्झट हुने भएको छ ।’ पहिले सामान्य रुघाखोकी वा ज्वरोमा पनि गाउँलेलाई ‘ठूला अस्पताल जानुपर्छ’ भन्ने मानसिकता थियो । तर अहिले गाउँमै विशेषज्ञको सेवा उपलब्ध भएपछि उपचारप्रतिको सोच बद्लिएको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल भन्छन्, ‘हामीले उपचारलाई केवल अस्पतालसम्म सीमित गरेनौं, नागरिकको जीवनशैली सुधार गर्ने दीर्घकालीन सोचसहित काम गरिरहेका छौं ।’

गाउँपालिकाले आगामी दिनमा अस्पतालको सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सक स्थायीरूपमा राख्ने योजना बनाएको छ । राप्तीसोनारीका नागरिकहरूका लागि अब स्वास्थ्य उपचार केवल सहरी सुविधा नभई गाउँमै पहुँचको विषय बनेको छ । शब्दमा भन्नुपर्दा, ‘जहाँ बिरामी हुनु डरको विषय थियो, अहिले उपचार हुनु आशाको विषय भएको छ ।’ यस परिवर्तनले स्थानीय सरकारको दिगो सोच, प्रभावकारी योजनाअनुसार कार्यान्वयन र समुदायको विश्वासलाई एकै थलोमा ल्याएको छ । राप्तीसोनारीको यो अभ्यास नेपालकै अन्य ग्रामीण तहका लागि प्रेरणादायी मोडेल बन्ने सम्भावना छ ।

स्थानीय सरकारले गाउँमै उपचारका लागि सहज बनाइदिए पछि स्थानीय पनि खुसी भएका छन् । राप्तीसोनारी–४, बैजापुरका किसान भुवन थारु भन्छन्, ‘पहिले हामीले सस्तो चाउचाउ खाएर अस्पतालको लागि पैसा जम्मा गर्नुपथ्र्यो । अहिले गाउँमै अस्पताल छ । अब बिरामी पर्दा ‘कता जाने’ भन्ने चिन्ता हुँदैन ।’ यस अघि स्वास्थ्य शिविरमा चेकजाँच गराएकी राप्तीसोनारी–७ की कौशिला चौधरीले भनिन्, ‘मैले कहिल्यै सोचेकी थिइनँ कि एक दिन गाउँमै डाक्टरसँग आँखा, कान, पेट सबै कुरा जाँच गराउँछु । यो त सपना जस्तै लाग्छ । पहिले हामी ओझा–सोखा कहाँ जान्थ्यौं, अहिले अस्पताल जान्छौं । यो परिवर्तनले हामीलाई बाँच्ने भरोसा दिएको छ ।’

स्वास्थ्य पूर्वाधार विस्तारमा ७ करोड ७२ लाख लगानी
राप्ती सोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य क्षेत्रमा ठूला योजना अघि सारेको छ । गाउँपालिका कार्यालयका अनुसार आधारभूत स्वास्थ्य सेवा सुदृढ गर्दै प्रयोगशाला सेवा विस्तार, गुणस्तरीय औषधि खरिद, विभिन्न किसिमका स्वास्थ्य शिविर सञ्चालन तथा नागरिक आरोग्य केन्द्रको सेवा विस्तार प्राथमिकतामा राखिएको छ ।

यसका अतिरिक्त स्वास्थ्य संस्था निर्माण, पुराना संरचनाको मर्मत सम्भार, महिला स्वास्थ्य स्वयम्सेविका परिचालन, खोप तथा जनस्वास्थ्यका कार्यक्रम विकासका लागि सात करोड ७२ लाख २० हजार विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए । गाउँमै प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउनका लागि यो रकमले स्वास्थ्य पहुँच, गुणस्तर र जनताको सन्तोष बढाउने अपेक्षा गरिएको छ ।

राप्तीसोनारीमा स्वास्थ्य सेवाको पहुँच विस्तार
अब बिरामी भएपछि राप्ती सोनारी गाउँपालिका क्षेत्रका बासिन्दालाई उपचारका लागि नेपालगन्ज वा दाङ धाउनुपर्ने बाध्यता हट्दै गएको छ । गाउँमै स्वास्थ्य संस्था विस्तार र सेवा सुदृढीकरणपछि स्थानीयवासीले गुणस्तरीय उपचार सेवा आफ्नै घरछेउमै पाउन थालेका छन् । गाउँपालिकामा हाल १४ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । तीमध्ये एक वटा आधारभूत अस्पताल, तीनवटा स्वास्थ्य चौकी, १० वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन् । ती सबै संस्थाबाट प्राथमिक उपचार, सुरक्षित मातृत्व सेवा, बालबालिका र वृद्धवृद्धाको नियमित चेकजाँचदेखि विशेषज्ञ सेवा प्रदान गरिँदै आएको छ ।

राप्ती सोनारी–४ बैजापुरमा रहेको राप्ती सोनारी आधारभूत अस्पताल हाल गाउँपालिकाको सबैभन्दा ठूलो स्वास्थ्य संस्था हो । यस अस्पतालमा आकस्मिक सेवा, प्रयोगशाला परीक्षण, प्रसूति सेवा, औषधि वितरण, खोप कार्यक्रम र पोषण परीक्षणजस्ता सेवाहरू नियमितरूपमा सञ्चालन भइरहेका छन् । गाउँपालिकाले यस अस्पतालमार्फत विभिन्न संघ–संस्थाको सहकार्यमा मोबाइल स्वास्थ्य शिविर, विशेषज्ञ परीक्षण कार्यक्रम, र अभिमुखिकरण तालिम सञ्चालन गर्दै आएको छ । हालै अस्पतालमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना भएपछि मोतियाविन्दु, दृष्टि कमजोरीजस्ता समस्या भएका बिरामीलाई गाउँमै सेवा मिलेको छ ।

  • २२ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech