शिशु तथा बाल्यावस्थामा हुने आँखाको क्यान्सर हो, रेटिनोब्लास्टोमा। यो एउटा वा दुवै आँखामा देखिन सक्छ। आँखाको पछाडिको पर्दा (रेटिना)बाट सुरु हुन्छ। रेटिनामा रहेका कोषिका अनियन्त्रित रूपमा बढ्छन। र, आँखाको सेतो नानी (ल्युकोकोरिया) देखिन्छ।यदि क्यान्सर आँखामा मात्र सीमित छ भने इन्ट्राओकुलर रेटिनोब्लास्टोमा भनिन्छ। यदि यो शरीरका अन्य भागहरूमा एक्स्ट्राओकुलर रेटिनोब्लास्टोमा भनिने विशेषज्ञहरू बताउँछन्।
सामान्यतया रेटिनोब्लास्टोमालाई तीन भागमा विभाजन गरिन्छ। एउटा आँखामा रेटिनोब्लास्टोमा पाइएमा युनिल्याटरल र दुवै आँखामा देखिएमा बाइल्याटरल भनिन्छ। आँखाको क्यान्सर फैलिएर मस्तिष्कभित्रको पाइनल ग्रन्थीसम्म पुगेको छ भने पाइनोब्लास्टोमा भनिन्छ। आँखाको नसा मस्तिष्कसँग जोडिएकाले मस्तिष्क, फोक्सो, कलेजो हुँदै हाडमा क्यान्सर फैलिएर ज्यान जान सक्छ। तर सुरुवाती चरणमै उपचार गराए पूर्ण निको हुन्छ।
आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) का लक्षणहरू
– आँखाको नानीको कालो भागमा सेतो टीका देखिने
– आँखाको डेढोपन हुने
– आँखा असामान्य रूपमा रातो हुने
– आँखा दुख्ने
– दृष्टि क्षमता कम हुँदै जाने
– आँखाको आकार ठूलो हुँदै जाने
– आँखाको डल्लो बाहिर निस्कने
रोग पत्ता लगाउन गरिने परीक्षण
– आँखाको पर्दा (रेटिना) जाँच
– आँखाको भिडियोएक्सरे (अल्ट्रासाउन्ड)
– आँखा र मस्तिष्कको सिटिस्क्यान र एमआरआई
उपचार गर्न अपनाइने पद्धतिहरू
– केमोथेरापी
– थरमोथेरापी
– क्रायोथेरापी
– रेडियोथेरापी
– शल्यक्रिया
– आँखाको डल्लो निकाले पनि कृत्रिम आँखा (प्रोस्थेसिस) राखेर आँखाको सौन्दर्य कायम गरिन्छ।
के छन्, उपचार पद्धति ?
रोगको चरणअनुसार विभिन्न उपचार विधि छन्। कुन चरण (स्टेज)मा उपचार गर्न ल्याइएको छ, त्यहीँ आधारमा उपचार पद्धति अपनाउने गरिन्छ। रोगको स्टेज पत्ता लगाउन सिटिस्क्यान गरिन्छ। अलि जटिल अवस्थामा ल्याइएको छ भने बोनम्यारोको पनि परीक्षण गरिन्छ। बोनम्यारोमा पनि देखिएको छ भने त्यसलाई स्टेज–४ भनिन्छ। ढाडको पानी निकालेर गरिने बोनम्यारो परीक्षण कान्ति बाल अस्पतालमा हुने गरेको छ।
रोगको अवस्था निर्क्योल भएपछि अपनाइने उपचार पद्धति पाँच किसिमका छन्,—केमोथेरापी, थरमोथेरापी, क्रायोथेरापी, रेडियोथेरापी र शल्यक्रिया। केमोथेरापीमा क्यान्सर वरुद्ध औषधिहरू नसाबाट दिएर उपचार गरिन्छ। साथै यी औषधिहरू कहिलेकाहीँ सीधै आँखामा पनि लगाइन्छ। त्यस्तै थरमोथेरापी विधि भन्नाले डायोड लेजरद्वारा अत्यधिक तातो प्रयोग गरी क्यान्सर भएको तन्तुलाई नष्ट गरिन्छ।
क्रायोथेरापी उपचार विधिअन्तर्गत अत्यधिक चिसो तापक्रमको प्रयोग गरी क्यान्सर भएको तन्तुलाई नष्ट गरिन्छ। रेडियोथेरापीमा उच्च मात्रामा एक्सरे विकिरण प्रयोग गरी क्यान्सरका तन्तु नष्ट गरिन्छ। जटिल अवस्थामा पुगेका बिरामीलाई मात्र रेडियोथेरापी उपचार विधि प्रयोग गरिन्छ। विभिन्न उपचार विधि अपनाउँदा पनि रोग निको पार्न सम्भव नहुन सक्छ। त्यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ। आँखाको डल्लो निकाली गर्नुपर्ने उपचारलाई इन्कुलेसन भनिन्छ।