छोरीको पहिलो महिनावारीको समय भ्रम र चिन्ताले भरिएको हुन सक्छ । तर, अभिभावकको सही जानकारी र तयारीले यो अनुभवलाई सहज र सकारात्मक बनाउन सकिन्छ । केही विशेष सुझाव दिएर आमाले आफ्नी छोरीलाई पहिलो महिनावारीका लागि तयार गर्न सक्छन् ।
प्रथम महिनावारीको समयमा हरेक किशोरीले केही न केही समस्याको सामना गर्नुपर्छ । कसैका लागि यो समय निकै कष्टकर हुन्छ भने कसैका लागि सामान्य । पहिले यो विषयमा खुलेर कुरा खासै हुँदैन थियो, तर आजभोलि आमाले आफ्नी छोरीलाई उनको पहिलो महिनावारीका लागि राम्रोसँग तयार गर्न सक्छिन्, ताकि उनले अनावश्यक समस्याहरूको सामना गर्न नपरोस् ।
धेरै परिवारहरूमा छोरीको पहिलो महिनावारीलाई उनको यौवन अवस्थाको सुरुवातको रूपमा मानिन्छ र यो अवसरलाई राम्रोसँग उत्सवको रूपमा मनाइन्छ ।
साथै, यो कुरा पनि ध्यान दिनुपर्छ कि, आजकाल छोरीहरूको महिनावारी १०–१२ वर्षको उमेरमा सुरु हुन्छ, जब कि औसत उमेर ११–१४ वर्षको बीचमा मानिन्छ । तर, बदलिँदो खानपान र जीवनशैलीका कारण महिनावारी समयभन्दा पहिले नै सुरु हुने गरेको छ ।
चिकित्सकीय भाषामा यो अवस्थालाई मिनार्की भनिन्छ । यस्तो अवस्थामा आमाले आफ्नी छोरीको पहिलो महिनावारीको तयारीका लागि केही कुराहरूमा ध्यान दिनुपर्छ ।
महिनावारीको बारेमा साधारण भाषामा बुझाउने
छोरी यौवन अवस्थामा पुग्दा आमाको चिन्ता बढ्नु स्वाभाविक हो, र यसको समाधान कुराकानीबाटै सम्भव छ । महिनावारीको विषयमा साधारण र सरल भाषामा बुझाउँदा यो विषय राम्रोसँग बुझ्न सकिन्छ । शरीरमा पाठेघर भन्ने अङ्ग हुन्छ, जसबाट हरेक महिना केही दिनका लागि रगत बग्छ ।
यो एक प्राकृतिक प्रक्रिया हो, जो हरेक छोरीको यौवन अवस्थामा हुन्छ भन्ने कुरा छोरीलाई भन्नुपर्छ । यो शारीरिक विकाससँग सम्बन्धित छ, त्यसैले यसबारे चिन्ता वा डर मान्नु पर्दैन भनेर सिकाउनुपर्छ ।
सन्तुलित आहार र शारीरिक गतिविधिको आवश्यकता
पोषणको कुरा गर्दा, अभिभावकले यो समयमा छोरीको तौल अनावश्यक रूपमा बढ्न दिनुहुँदैन । आमाबुबाको अत्याधिक माया र उसलाई जे मनपर्छ त्यस्ता खानेकुरा खान दिने चाहनाले कहिलेकाहीँ छोरीको अस्वस्थ जंक फुड खाने बानीलाई प्रोत्साहन गर्नसक्छ ।
यसले समयभन्दा पहिले महिनावारी सुरु हुने सम्भावना बढ्छ । यस्तोमा, छोरीको पढाइसँगै सन्तुलित आहार र शारीरिक गतिविधिमा सहभागी हुनु निकै महत्त्वपूर्ण हुन्छ ।
यौवन अवस्थामा पुग्दा छोरीलाई सन्तुलित आहार दिनु अनिवार्य छ । शरीरमा भिटामिन डीको कमीले महिनावारीको समयमा हुने दुखाइ ‘क्र्याम्प्स’ को समस्या बढ्न सक्छ, भने आइरनको कमीले रक्त अल्पताको समस्या हुन सक्छ ।
सरसफाइ र महिनावारी उत्पादनको जानकारी
छोरीलाई पहिलो महिनावारीको बारेमा जानकारी दिँदा स्यानिटरी प्याड र महिनावारीको समयमा सरसफाइको बारेमा बताउनुपर्छ । यदि यो कुरा बुझाउन शिक्षक वा साथीहरूको सहयोग चाहिन्छ भने सहयोग लिन हिचकिचाउनु हुँदैन ।
छोरीले समय–समयमा पानी पिइरहेको छ कि छैन ? भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । जसले गर्दा धेरै रक्तस्रावको समयमा थकान नहोस् । दुखाइ कम गर्ने औषधिहरू पनि घरमा राख्नुपर्छ । यद्यपि, सबैलाई यस्तो औषधिको आवश्यकता पर्दैन, तर धेरै दुखाइ भएमा स्त्री रोग विशेषज्ञको सल्लाह लिएर मात्र पेनकिलर दिनुपर्छ ।
यौनाङ्गको वरिपरि सरसफाइ राख्ने बारेमा पनि उसलाई सिकाउनुपर्छ । साथै, प्याड, महिनावारी कप, ट्याम्पोनको प्रयोग कसरी गर्ने भनेर पनि सिकाउनुपर्छ । पिसाब गरेपछि यौनाङ्ग वरिपरि सफा गर्ने बारेमा पनि जानकारी दिनुपर्छ । यदि आमाले यी कुराहरू बुझाउन हिचकिचाहट महसुस हुन्छ भने, स्त्री रोग विशेषज्ञसँगको सहयोगमा कुराकानी गरेर महिनावारीको यात्रा सुरु गर्नु राम्रो हुन्छ ।
आमाले ध्यान दिनुपर्ने अन्य कुरा
आमाले नै आफ्नी छोरीलाई महिनावारीसँग सम्बन्धित हरेक जानकारी दिन, उनको खानपानमा ध्यान दिन र उनको हरेक सानो–ठुलो प्रश्नको जवाफ दिन महत्त्वपूर्ण भूमिका खेल्छिन् । किनकि, आमा नै छोरीको पहिलो शिक्षिका हुन् । यो समयमा आमाको साथ र समझदारीले छोरीलाई पहिलो महिनावारीको समयमा हुने असहजताबाट बचाउन सक्छ ।