रोल्पाः रोल्पाको खुमेलमा १३ दिनको पूण्य तिथि (शुद्ध कार्य) का अवसरमा पकाएको खाना खाँदा १ सय १० जना बिरामी भएका छन् । स्थानीय एक जना बृद्धको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रसादको रूपमा पकाइएको खाना खाँदा आगन्तुकहरु बिरामी परेका हुन् ।
प्रहरीका अनुसार पूण्य तिथिका अवसरमा शनिबार भेला भएर खाना खाएका १ सय ५० जना मध्ये १ सय १० जना बिरामी भएका थिए । बिरामीलाई रातिसम्म रेउघास्थित रोल्पा अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । ‘बिरामीमध्ये अधिकांशको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो।
धेरै बिरामी परेकालाई अस्पतालमा पठायौं,’ जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईंले भने । रोल्पा नगरपालिका–३ चौरपानी स्थित तिलप्रसाद रोकाको घरमा उनकै ठूलो बुवा चित्रबहादुर रोकाको १३ औं पूण्य तिथिको अवसरमा खानपिन कार्यक्रम आयोजना गरिएको थियो । खाना खाएकाहरु दिउँसो ३ बजेदेखि बिरामी भएका थिए ।
बिरामी भएका अधिकांशले दालभात, तरकारी, पुरी, अचार खाने बित्तिकै उल्टी (वान्ता) गरेका थिए । घटनापछि १ सय २ जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो भने गम्भीर अवस्थाका १२ जनालाई राति अबेरसम्म रोल्पा अस्पतालमा पठाइएको थियो । अस्पतालका चिकित्सक डाक्टर रिषभ गौतमले सबै बिरामीमा खानामा खराबी (फुड पोइजन) संक्रमण भएको बताए । ‘
धेरै जनाको लागि पकाइएको खानामा किटाणुको संक्रमण भएको हुनुपर्छ । उपचारपछि बिरामीको अवस्था सामान्य छ,’ डाक्टर गौतमले भने । उनका अनुसार गाउँमा धेरै जनाको लागि खाना तयार पार्ने क्रममा सावधानी अपनाउन नसक्दा किटाणु संक्रमित भएको हुन सक्छ । अस्पतालमा ल्याइएका १२ जनामध्ये ४ जनालाई उपचार पछि घर पठाइएको छ भने ८ जनाको उपचार जारी छ । बिरामीमध्ये अधिकांशलाई बोमिट हुने र पखाला लाग्ने समस्या छ ।