नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेले सूर्तीजन्य पदार्थको बढ्दो प्रयोग रोक्न सरोकारवाला निकायसँग परामर्श तीब्र बनाएको छ । बढ्दो सूर्तिजन्य पदार्थको प्रयोगले रोक्न स्वास्थ्य कार्यालयले सरोकारवाला निकायसँग परामर्श तीब्र बनाएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले जानकारी दिए ।
बढ्दो सूर्तिजन्य पदार्थको प्रयोग र त्यसबाट उत्पन्न स्वास्थ्य समस्यालाई लिएर नेपालगन्जमा सरोकारवालसँग छलफल गरियो उनले भने-‘यसले समुदायस्तरमा सचेतना फैलाउनका निमित्त प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास छ ।’
श्रेष्ठले सार्वजनिक स्थानहरूमा खुलेआम सूर्तिजन्य पदार्थको प्रयोग हुँदै आएको उल्लेख गर्दै नियन्त्रणमा सबैको भूमिका हुने बताए ।
कार्यक्रममा सहभागि लुम्बिनी प्रदेश स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि बनेका नीति र नियमहरू पर्याप्त भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताइन् । उनले भनिन् -‘लागू पदार्थ र सुर्तीजन्य वस्तुले स्वास्थ्यमा पार्ने प्रभाव गम्भीर र भयावह छन्। अब प्रदेश सरकारले यस क्षेत्रमा कडाइका साथ अघि बढ्नेछ।’
सचिव श्रेष्ठले नीति मात्रै बनाउने होइन, त्यसलाई लागू गर्ने पक्षमा समेत प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरिन् ।
स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक जयनारायण उपाध्यायले सूर्ति र निकोटिन उद्योगका रणनीति, लतको चक्र, स्वास्थ्यमा पार्ने असर, कानुनी प्रावधान तथा नेपालको भूमिका जस्ता विषयमा जानकारीमूलक प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष चिरञ्जीवी ओलीसहित सञ्चारकर्मीहरू र सरोकारवालाहरूले आफ्ना धारणा, सुझाव र जिज्ञासा राख्दै सूर्तीजन्य पदार्थ नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउन आफ्नो तर्फबाट सहयोगको प्रतिवद्धता जनाए ।