महिनावारीमा भारी रक्तस्राव, अनियमितता र निद्रामा गडबडी महिलाका आमसमस्या हुन् । त्यति मात्रै होइन, जतिसुकै चिसो होस्– तुरुन्तै खलखली पसिना आउने, पैताला पोल्ने, चिडचिडाहट हुने, छटपटी र श्वास फेर्नै गाह्रो भइरहेजस्तो समस्या भोग्ने महिला पनि कम छैनन् । निस्सासिने, मुटु ढुकढुक हुने, डर लागेजस्तो, मुड स्विङ, कुनै कारणबिना मनमा उतिबेलै नरमाइलो वा निराश अनुभव, यत्तिकै खुसी, मोटोपन, बिर्सिने समस्या पनि कतिपय महिलाले झेलिरहेका समस्या हुन् ।
यस्तै अनुभव गर्ने महिलाको संख्या साँच्चै कति होला त हाम्रो देशमा ? सामान्यतया ४० कटेपछिका आममहिलामा यस्तो समस्या देखिने गरेको छ । यी तमाम कारणले ‘४० कटेसी रमाउँला’ भन्ने गीत आममहिलाका लागि सान्दर्भिक लागेन । ४० कटेसी आममहिला रमाउन नसक्नुको प्रमुख कारण हो– रजोनिवृत्ति, जसलाई अंग्रेजीमा ‘मेनोपज’ भनिन्छ ।
२०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ, यसमा महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.१ प्रतिशत रहेको छ । महिलाको यो संख्यामध्ये ४० देखि ५४ वर्ष उमेर समूहका महिलाको संख्या २३ लाख ८९ हजार २ सय १२ अर्थात् कुल जनसंख्याको ८.१३ प्रतिशत छ र यी महिला रजोनिवृत्तिका कारण यस्ता समस्याबाट गुज्रिरहेका छन् । यिनीहरूको न कतै चर्चा छ, न त कतै बहस र गुनासोको सुनुवाइ नै भइरहेको छ ।
उल्लिखित सबै समस्या एकै जना महिलामा नदेखिएला तर यीमध्ये केही न केही समस्या यो जनसंख्याले भोगिरहेको छ । के यत्रो जनसंख्याले भोगिरहेको समस्यालाई यसरी अनदेखा र नजरअन्दाज गर्न मिल्छ र ? किनभने, धेरै नेपाली महिलालाई रजोनिवृत्तिबाट आउने समस्यालाई स्वस्थ जीवनयापनबाट कम गर्न सकिन्छ भन्नेबारेमा जानकारी नै छैन । प्रजनन स्वास्थ्यबारे जानकारी दिने संयन्त्र भए पनि रजोनिवृत्तिका बारेमा उनीहरू बोल्दैनन् । विज्ञहरू भन्छन्– महिलाहरूको रजोनिवृत्तिको अवस्था बालिकाको महिनावारी सुरु हुने (प्यूवर्टी) बेलाजत्तिकै संवेदनशील हो र अझै गम्भीर अवस्था हो ।
अहिलेको समयका बाबुआमा छोराछोरी १० वर्ष पुगेपछि उनीहरूसँग कसरी कुरा गर्ने, उसलाई नराम्रो नलाग्ने गरी कसरी सम्झाउने, उसको शरीरमा भइरहेको हार्मोन विकासले आइरहेका शारीरिक र मानसिक परिवर्तनका बारेमा
कसरी बुझाउने भन्ने समस्याबाट गुज्रिरहेका पाइन्छन् । अझ छोरासँग कसले र छोरीसँग कसले कुरा गर्ने भन्ने चिन्ताले पनि उनीहरूलाई सताइरहेको हुन्छ । किनकि, यो उमेरमा उनीहरू धेरै संवेदनशील हुन्छन् र कुरा गर्दा सावधानीपूर्वक गर्नुपर्छ भनेर खासगरी अहिलेका अभिभावक संवेदनशील देखिन्छन् । यसैगरी किशोरकिशोरी शिक्षा भनेर विद्यालयमा पढाइ हुन्छ । पाठ्यक्रम बनाइएको छ ।
थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाले किशोरकिशोरीका लागि प्रजनन शिक्षा र अधिकारका कुरा गर्न परियोजना चलाउँछन् । सुरक्षित मातृत्व विषयमा व्यापक बहस हुन्छ, नीति नियम बनाइन्छ, सरकारी र गैरसरकारी क्षेत्रबाट कार्यक्रम गर्न बजेट छुट्याइन्छ । तर त्यत्तिकै संवेदनशील अवस्था र अझ गम्भीर रजोनिवृत्तिका विषयमा सबैतिर मौनता साँधेको पाइन्छ । महिलाको रजोनिवृत्तिको अवस्थाबारे कतै छलफल र बहससमेत भएको पाइँदैन ।
डाक्टरहरूका अनुसार महिलाले रजोनिवृत्तिका कारण आउने शारीरिक र मानसिक असर लगभग १२ वर्षसम्म भोग्नुपर्छ । रजोनिवृत्ति ४० वर्षमा सुरु भएर ५२ वर्षसम्म रहन्छ । महिनावारी सुक्नुअघिदेखि सुरु हुने हार्मोन परिवर्तनले पार्ने शारीरिक र मानसिक असर र सुकेपछि हुने असरको समयावधि १५ वर्षसम्म रहन्छ । हुन त महिनावारी सुकेपछि महिलालाई हुने ‘अस्टियोपोरोसिस’ अर्थात् चिप्लोपनको कमीका कारण हड्डीको घनत्व कम भई हुने समस्या र अन्य प्रजनन समस्या स्वाभाविक रूपमा आउने यससम्बन्धी जानकारहरू बताउँछन् । तर स्वस्थ खानेकुरा र नियमित व्यायामले यो समस्या रोक्न सकिने जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीको विचार छ ।
डाक्टरहरूले नै भनेअनुसार यही कारणले पाठेघर र ओभरीसँग सम्बन्धित समस्या, ढाड दुख्ने, हड्डी खिइने, घुँडा दुख्ने र शरीरमा चाहिने सूक्ष्म पोषण तत्त्वको अभाव हुने समस्या यो उमेरका महिलामा सँगसँगै आइरहेको हुन्छ । यति धेरै र लामो समयको समस्यालाई महिलाहरूले एक्लै सहिरहेका छन् र सम्हालिरहेका छन् ।
महिलाको लैंगिक भूमिका र जिम्मेवारीसमेत यो समय झन् धेरै बढेको पाइएको छ । जस्तै परिवारका ज्येष्ठ सदस्यको स्याहारसुसार, उनीहरूको स्वास्थ्य उपचार र रेखदेख, छोराछोरी यो समयमा कि प्यूवर्टीमा हुने वा उनीहरू उच्च शिक्षामा जाने समय हुन्छ । पढाइ खर्चका लागि परिवारमा तनाव आदि हुने कारणले पनि खासगरी मध्यम वर्गीय परिवारका महिलाले आफ्नो शरीरमा भइरहेको समस्या र पीडाका बारेमा परिवारका अन्य सदस्यलाई भन्ने वातावरण पाइरहेका हुँदैनन् । परिवारका सदस्यलाई थाहा भए पनि यी कुरामा बेवास्ता गर्ने वा सामान्य समस्याका रूपमा लिने प्रवृत्ति पनि धेरै देखिएको छ ।
महिलाको मुड स्विङ र चिडचिडाहट पनि रिसाउने, प्रतिक्रिया दिइहाल्ने कारणका बारेमा परिवारले खासगरी श्रीमान्ले बुझ्न नखोज्ने र केही समस्याका बारेमा भन्दा बहाना बनाएको जस्तो गर्ने कारणले रजोनिवृत्ति बेवास्तामा परिरहेको हो । यस अवस्थाले महिलालाई झन् एक्लो र निरीह अनुभव गर्न बाध्य बनाइरहेको छ । घरका ज्येष्ठ सदस्य आफ्नै स्वास्थ्य समस्याका कारण तनावमा हुने र छोराछोरी पढाइ र करियरको तनावमा रहेका बेला महिलाको रजोनिवृत्तिको समस्या थप ओझेलमा परिरहेको छ ।
यो अवस्थालाई गम्भीरतापूर्वक नलिँदा वा यति धेरै बेवास्ता गरेकै कारण परिवारले बुझ्न नसकेको, द्वन्द्व भइरहेको, महिलाले एक्लोपन अनुभव गर्ने र मानसिक तनावमा रहने गरेका छन् । पारिवारिक जिम्मेवारीका कारण कति महिलाले आफ्ना लागि समय दिनै सकेका छैनन् । अझ कामकाजी महिलाका लागि त रजोनिवृत्ति अति नै जटिल समस्या भएर देखापरेको छ ।
प्रविधिमा पहुँच भएका सहरी क्षेत्रका महिला यस विषयमा व्यक्तिगत रूपमा भर्खर भर्खर संवेदनशील भए पनि ग्रामीण भेगका महिला आफ्नो शरीरमा आइरहेको यो अवस्थाबाट अनभिज्ञ छन् । किनकि, यो विषयका बारेमा उनीहरूले बुझ्ने गरी न प्रविधिले भनिदिन्छ, न त आफ्नो वरिपरि कतै चर्चा भएको नै छ । यो अज्ञानताका कारण धेरै महिला शारीरिक, मानसिक र सामाजिक रूपमा पिल्सिएका छन् तर त्यसबारे खुला रूपमा बोल्न सकिरहेका छैनन् । कारण– समाजमा यसलाई पनि लाजको विषय बनाइएको छ । यसकारण यो मौनता कतिपय अवस्थामा लाजका कारणले पनि भइरहेको छ । अनि परिवारमा र समुदाय वा स्वास्थ्यकर्मीसँग पनि खुलस्त छलफल हुन सकिरहेको छैन ।
सञ्चारमाध्यममा भएको फाट्टफुट्ट छलफल पनि समस्याको संवेदनशीलता हेरी निकै कम मात्रमा भएको छ । शैक्षिक क्षेत्रमा यो विषयले प्रवेश नै पाएको छैन । त्यसैले यस विषयलाई लिएर न अध्ययन भएको छ, न त विद्यार्थीका लागि थेसिसको विषय नै बन्न सकेको छ ।
रजोनिवृत्तिबाटै आइरहेका समस्या लिएर अस्पताल गए पनि स्वास्थ्यकर्मीले किन यस्तो समस्या भइरहेको छ भन्ने जानकारी दिएको पाइँदैन । सिधै औषधि लेखिदिने र ठीक नभए अर्को पटक आउनुपर्ने जानकारीबाहेक डाक्टरले के कारणले यस्तो भइरहेको छ भनेर मनोपरामर्श दिने वा मनोपरामर्श लिनका लागि सिफारिस गरेको पाइँदैन । सायद स्वास्थ्य क्षेत्रमा समेत रजोनिवृत्तिको प्रभावका बारेमा बहस, छलफल र प्रशिक्षणको आवश्यकता छ । अस्पताल र स्वास्थ्य संस्थामा मात्रै होइन, यो समस्यालाई देशको नीति नियम, बजेट र कार्यक्रममा समावेश गराउनका लागि बलियो पैरवी गर्न आवश्यक छ । यस्तो पैरवी गर्नका लागि अब तथ्यांक संकलनमा लाग्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
खासगरी महिला आयोगले विभिन्न निकायसँग सहकार्य गरेर यो काम गर्न सक्छ । देशव्यापी रूपमा छलफल र बहस चलाएर महिलाका कथा संकलन गर्न सके कानुन निर्माणका लागि सजिलो हुने देखिन्छ । जो जहाँ छौं, त्यहाँबाट रजोनिवृत्ति बहस सुरु गरौं । विशेष गरी घरका युवा सदस्यले आफ्ना आमाहरूको समस्या र अवस्थाप्रति ध्यान दिन कोसिस गरौं । जसरी तपाईंको खुसीका लागि आमाहरूले विशेष ख्याल गरिरहेका छन्, त्यसरी नै तपाईंहरूले पनि ‘आमा सन्चै छ ?’ भनेर सोध्नुहोस् । खासमा आमाहरूले आफ्ना धेरै समस्या लुकाइरहेका छन् । भन्न सकिरहेका छैनन् । भन्न सक्ने आफ्ना मान्छे नै उनीहरूले नपाइरहेका हुन् कि ! किनकि उनीहरू आफ्ना लागि बाँचिरहेकै छैनन् ।