नेपालगन्ज: नेपाली काँग्रेस बाँके र नेपाल स्वास्थ्यकर्मी संघको आयोजनामा नेपालगञ्जमा संयुक्तरुपमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।
१८औं गणतन्त्र दिवस एवम् नेपाल स्वास्थ्यकर्मी संघको ३४औं स्थापना दिवसका अवसरमा आज बिहान नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको बाँके रेडक्रसको रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठले रक्तसंचार केन्द्रका प्राविधिकलाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गरेका थिए ।
त्यस अवसरमा केन्द्रीय सदस्य बाल्मिकीले जनताको ठूलो बलिदानवाट प्राप्त गणतन्त्रलाई कसैको लहडमा कदापि खोस्न नदिइने बताए । नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए भने स्वागत मन्तव्य नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपालका पहिलो जननिर्वाचिन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति जननायक स्वर्गीय विपी कोइराला र नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री संविधान पिता स्वर्गीय सुशील कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । त्यस अवसरमा लोकतान्त्रिक आन्दोलनका शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञ बस्नेत, सहसचिव रेनु सिंह ठाकुर, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता लगायत ठूलो संख्यामा नेपाली काँग्रेसका कार्यकर्ताको उपस्थिति रहेको थियो ।
रक्तसंचार केन्द्रका प्रमुख उपेन्द रेग्मीका अनुसार कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् ।