सरकारले आज बजेट ल्याउँदै, स्वास्थ्य मन्त्रालयको बजेट कति ?

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८२, बिहीबार

नेपालगन्जः सरकारले आज बजेट ल्याउने भएको छ । दिउँसो ३ बजे सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नेछन् ।

स्वास्थ्य मन्त्रालयको बजेटको सिलिङ करिव १ खर्वको हाराहारीमा हुनेछ । चालु आर्थिक वर्षको तुलनामा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि एक खर्ब हाराहारीमा बजेट पाउने देखिएको हो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षका लागि प्रारम्भिक सिलिङभन्दा थप १३ अर्ब रुपैयाँ बढी रकम पाएको छ। मन्त्रालयलाई सुरुमा ८२ अर्ब ८८ करोड २८ लाखको बजेट सिलिङ दिइएको थियो। यो रकम चालु आर्थिक वर्षको बजेट भन्दा ३ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ कम थियो।

आगामी आर्थिक वर्षका लागि रकम कम भएको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पटक पटक आग्रह गरेपछि मन्त्रालयले थप १३ अर्ब बढी रकमको सिलिङ पाएको हो। थपिएको रकमपछि स्वास्थ्य मन्त्रालयले ९६ अर्बको सिलिङ प्राप्त गरेको छ।

बजेट थपिएसँगै अब सातै प्रदेशको क्यान्सर उपचार विस्तारित सेवा, जलन उपचार सातै प्रदेशमा व्यवस्थित गर्न, मानव अंग प्रत्यारोपण प्रादेशिक अस्पतालहरुमा विस्तार गर्न, न्यूरो अस्पताल स्थापना, मधेश प्रदेशमा किड्नी सेन्टर स्थापना, स्वास्थ्य बीमा सुधार तथा बक्यौता शून्यमा झार्ने लक्ष्य, नागरिकलाई निरोगी बनाउने राष्ट्रव्यापी अभियान, नसर्ने रोगको समयमै पहिचानका लागि राष्ट्रव्यापी कार्यक्रम, घर टोलमा स्वास्थ्य प्रबद्र्धन कार्यक्रम, सबै तहमा जनस्वास्थ्य अधिकृत व्यवस्था लगायतका कार्यक्रमहरु अगाडि बढ्ने मन्त्रालयको भनाइ छ ।

  • १५ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech