राप्तीसोनारीको खाद्य तथा पोषण सुरक्षा रणनीति तयार

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०८२, बुधबार

राप्तीसोनारीः बाँकेको राप्तीसोनारी गाउँपालिकाको खाद्य तथा पोषण सुरक्षा रणनीति तयार भएको छ । फियान नेपालले राप्तीसोनारीको पञ्चवर्षीय रणनीति तयार बनाइदिएको हो । उक्त रणनीतिमा खाद्य तथा पोषण सुधारका समग्र विषयवस्तुलाई योजनबद्ध ढंगले उल्लेख गरिएको फियान नेपालका महासचिव रामबहादुर पुनले जानकारी दिए । संबिधानले नै खाद्य अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेकाले स्थानीय सरकारले पनि त्यसको कार्यान्वयनका लागि रणनीति बनाइएको उनले बताए ।

राप्तीसोनारी गाउँपालिकामा बुधवार आयोजित एक कार्यक्रमका बीच पञ्चवर्षीय रणनीति हस्तान्तरण गरिएको उनले बताए । पालिकाका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुलाई उक्त रणनीति हस्तान्तरण गरिएको छ । त्यसक्रममा पालिका अध्यक्ष पौडेलले खाद्य सुरक्षा र पोषण सुधार पालिकाको प्रमुख प्राथमिकतामा रहेपनि योजना अभावले त्यसको प्रभावकारीता नदेखिएको बताए । यो रणनीतिले पालिकालाई योजनाबद्ध ढंगबाट काम गर्न सहज हुने उनले विश्वास दिलाए । पूर्वाधार विकासमात्रै सम्वृद्धिको आधार नभएकाले कृषि, पशु, स्वास्थ्य लगायतको क्षेत्रमा पनि विकास जरुरी रहेको उनको भनाइ छ ।

उनले बनेको नीतिलाई आसन्न नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने पनि प्रतिबद्धता जनाए । यस्तै फियान नेपालका अध्यक्ष सुरेश गौतमले समुदाय, वडा तथा पालिकाका सम्पूर्ण पक्षसँग छलफल गरेर रणनीति बनाइएको बताए । त्यसका लागि १ हजार ४ सय ७४ घरधुरीको सर्वेक्षण गरिएको उनले जानकारी दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पालिकाको पञ्चवर्षीय रणनीति तयार गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएको भन्दै कार्यान्वयनमा ध्यान दिन सुझाव दिए । कार्यक्रममा पालिकाका विभिन्न शाखा प्रमुखहरु त्था सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

  • १४ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech