डिजिटल वोर्डमा पढाउँदा पनि विद्यार्थीहरुमा आउन सक्छ आँखामा गम्भीर समस्या, बच्न के गर्ने ?

फुल लाइटमा डिजिटल वोर्डमा विद्यार्थीहरुलाई पढाउँदा आँखा सुख्खा हुने, आँखा दुख्ने, चिलाउने, बिझाउने, थाक्ने, रातो हुने र आँखामा स्ट्रेस हुने जस्ता थुप्रै आँखासम्बन्धी समस्या देखिने गरेका छन् । त्यस्ता समस्या लिएर अस्पताल आउने बालबालिकाहरुको संख्या बढ्दै गएको छ ।


    • प्रियास्मृति ढकाल

  • १३ जेष्ठ २०८२, मंगलवार

नेपालगन्जः पछिल्लो समय कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता डिजिटल उपकरण मानिसका अत्यावश्यक सामग्री भित्र पर्छन् । विद्यालयहरुमा पनि हिंजोआज डिजिटल वोर्डबाटै पठनपाठन गराउने प्रवृत्ति पनि बढ्दै गएको छ ।

प्रविधिको विकाससँगै यसलाई अस्वभाविक रुपमा लिनु पनि हुँदैन । यस्ता डिजिटल उपकरणले दैनिकी जति सहज बन्दै गइरहेको छ । तर यसले मानव स्वास्थ्यमा पर्ने असर पनि उत्तिकै बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

भिजन आँखा अस्पताल नेपालगन्जका आँखा रोग विशेषज्ञ डा. प्रचण्ड गौतमले कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता उपकरणको अत्याधिक प्रयोगले कम्प्युटर भिजन सिण्ड्रोमको समस्या बढ्दै गएको बताउँछन् ।

यस्ता उपकरणको धेरै प्रयोगले पछिल्लो समय आँखा र शरीरका विभिन्न अंगमा समस्या देखिन थालेको उनको भनाइ छ । त्यसमा पनि बालबालिकाहरुमा यस्ताद समस्या विकराल बन्दै गएको उनी चिन्ता व्यक्त गर्छन् ।

कम्प्युटर, ल्यापटप, मोबाइल, जस्ता विद्युतीय उपकरणको अत्याधिक प्रयोगले आँखालगायत शरीरका विभिन्न अंगमा देखिने समस्यालाई कम्प्युटर भिजन सिण्ड्रोम भनिने चिकित्सकको भनाइ छ । डिजिटल उपकरणको स्क्रीनबाट निस्कने ब्लु लाइट (निलो प्रकाश)ले यस्तो समस्या निम्ताउने आँखा रोग विशेषज्ञ डा गौतमको भनाइ छ ।

कम्प्युटर भिजन सिण्ड्रोमले गर्दा टाउँको दुख्ने, आँखा, गर्दन, घाँटी र शरीर दुख्ने थकाइ लाग्ने, निन्द्रा नलाग्ने जस्ता लक्षण लिएर आउनेहरुको संख्या बढ्दै गएको फत्तेबाल आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा.देवराज भारती बताउँछन् ।

त्यसका अलाव आँखा सुख्खा हुने, आँखा दुख्ने, चिलाउने, बिझाउने, थाक्ने, रातो हुने र आँखामा स्ट्रेस हुने जस्ता थुप्रै आँखासम्बन्धी समस्या देखिने डा.भारतीको भनाइ छ । डिजिटल उपकरणको स्क्रीनबाट बालबालिकाहरुमा मायोपिया अर्थात टाढा कम देखिने समस्या बढ्दै गएको उनी बताउँछन् ।

लगातार डिजिटल सामाग्री हेर्दा यो मौसममा आँखा सुख्खा भएर पोल्ने समस्या बढ्दा हुने डा.गौतम बताउँछन् । त्यसैगरी एसीको प्रयोगले पनि शरीर चिसो बनाएपनि आँखामा भने सुख्खापन ल्याइदिने उनको भनाइ छ ।

सामान्य तय एक मिनेटरमा १५–१६ पटक आँखा झिम्काउनुपर्ने हुन्छ । तर मोवाइल चलाउँदा आँखा नै नझिम्काएर हेर्ने चलन छ । विद्यालयमा पनि शिक्षकहरुले फुल लाइट डिजिटल वोर्डमा विद्यार्थीहरुलाई पढाउने गरेका छन् । जसका कारण आँखामा समस्या पर्ने गरेको चिकित्सकहरु बताउँछन् । करिव ६-७ घण्टा फुल लाइट डिजिटल वोर्डमा विद्यार्थीहरुलाई केन्द्रीत गराएर पढाउँदा त्यसले आँखामा ठूलो समस्या लिइरहेको चिकित्सकहरु बताउँछन् ।

डा. गौतम भन्छन् -‘फुल लाइटमा डिजिटल वोर्डमा विद्यार्थीहरुलाई पढाउँदा आँखा सुख्खा हुने, आँखा दुख्ने, चिलाउने, बिझाउने, थाक्ने, रातो हुने र आँखामा स्ट्रेस हुने जस्ता थुप्रै आँखासम्बन्धी समस्या देखिने गरेका छन् । त्यस्ता समस्या लिएर अस्पताल आउने बालबालिकाहरुको संख्या बढ्दै गएको छ ।’

लामो समय एकै ठाउँमा बसेर डिजिटल सामग्रीको प्रयोग गर्दा आँखा र कम्प्यूटरबीचको दूरी मिलाएर राख्नु पर्ने डा. भारतीको सुझाव छ । यसबाट बच्न २० मिनेट काम गरेपछि वा २० मिनेट डिजिटल वोर्डमा पढिसकेपछि आँखालाई २० सेकेण्ड विश्राम दिने र २० फिट टाढा हेरेर आँखा झिम्काउन शिक्षकहरुले भूमिका खेल्नु पर्ने डा. प्रचण्डको सुझाव छ । लामो समय डिजिटल साम्रगीको प्रयोग गर्दा बुलुकट चस्मा लगाउने, आँखा र कम्प्युटरको बीचमा एक हातको दूरी राख्न आँखा रोग विशेषज्ञको सुझाव छ ।

बाहिरी वातावरणको उज्यालो र कम्प्युटरबाट निस्कने उज्यालो तीन गुण बढी वा तीन गुण कम हुनु हुँदैन । आँखा रोग विशेषज्ञका अनुसार बाहिरी वातावरणको उज्यालो भन्दा कम र बढी उज्यालो कम्युटर हेर्दा बनाउनु हुँदैन । यसले आँखामा असर गर्छ । त्यसका अलावा कम्युटरको स्क्रीन आँखाको लेबल भन्दा तल राख्दा पनि यस्तो समस्याबाट बच्न सकिने चिकित्सको भनाइ छ ।आँखामा यस्ता लक्षण देखिए तुरुन्त आँखा रोग विशेषज्ञलाई देखाउन चिकित्सको सुझाव छ ।

  • १३ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech