नेपालगन्जः नेपालगन्ज केन्द्रीय कार्यालय रहेको योग समिति नेपाल सातौं वर्षमा प्रवेश गरेको छ । योग समिति नेपालले शनिवार नेपालगन्जमा एक औपचारिक कार्यक्रम गर्दै आफ्नो स्थापना दिवस मनाएको छ । औपचारिक कार्यक्रम अघि नेपालगन्ज बजारको विभिन्न भागको परिक्रमा गर्दै निस्किएको प्रभातफेरी बीपी चोक पुगेर सभामा परिणत भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित सभालाई प्रमुख अतिथि डा. धबल शमशेर राणाले सम्बोधन गर्दै योग सबैका लागि जरुरी रहेकाले हरेक व्यक्तिले योग गर्नुपर्ने धारणा राखे ।
मानिसलाई स्वस्थ रहनका लागि योग अपरिहार्य रहेको उनले बताए । राणाले योग समिति नेपालले योग सम्बन्धि सन्देश फैलाउन निरन्तर सक्रिय रहेको भन्दै त्यसका लागि समितिलाई धन्यवाद दिए । उनले आफ्नो एक महिनाको तलब योग समिति नेपालको भवन निर्माण गर्दा दिने उद्घोष गरे । योग समिति नेपाललाई नेपालगन्जबासीलाई नियमित योग गराई स्वस्थ राख्न अनुरोध गरे ।
योग समिति नेपालका अध्यक्ष एवं आयुर्वेदाचार्य योगगुरू गिरीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा छैठौं वार्षिकोत्सबका संयोजक प्रेम केसी, बिशिष्ट अतिथि ट्राफिक कार्यालय नेपालगन्जका प्रमुख नन्द कुमार पोख्रेल अतिथिहरू जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नेपाल चिकित्सक संघका अध्यक्ष डा. रूपानन्द अधिकारी, डा. बिनोद थापा, डा. कल्पना थापा, डा. उषा शाह, समितिका सल्लाहकार नन्दलाल बैश्य, जगदिश चन्द्र तिमिल्सिना, समितिका पदा
धिकारी, सदस्य, विभिन्न केन्द्रका संयोजक, योग प्रशिक्षक, योगीमनहरू लगायत समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । स्वागत नृत्यबाट शुरु भएको कार्यक्रममा विभिन्न १२ बिधामा उत्कृष्ट कार्य गरेका सदस्य, शुभचिन्तक तथा सहयोगी मनहरुलाई सम्मान समेत प्रदान गरिएको थियो । त्यसक्रममा बोल्दै डा. थापाले योग आफूले गरे मात्रै फाइदा हुने स्वयम् आफू नै यसको उदाहरण भएको बताउँदै विहान सुतेर जाने समयलाई सदुपयोग गर्ने सबैमा अनुरोध गरे । उनले योग समिति नेपालको भवन निर्माणमा एक लाख दश हजार सहयोग गर्ने घोषणा समेत गरे ।
त्यस्तै योग समिति नेपालकी योग प्रशिक्षक शकुन्तला भट्टराईले एक लाख एक हजार सहयोग गर्ने घोषणा गरेको समितिकी उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारी दिइन् । कार्यक्रम सञ्चालन समितिका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए । योग समिति नेपाल छोटो समयमा सर्वसाधारणलाई योग गर्नका लागि प्रेरित गर्न सफल भएको छ । समितिले गर्दै आएको नियमित योगाभ्यास तथा उपस्थितिले सर्वसाधारणको ‘प्रेरक’ समिति बनेको सर्वसाधारण बताउँछन् ।