देउखुरी: लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालसहित १४ अस्पतालको विकास समितिमा सत्तारुढ प्रमुख दुई दलले भागबन्डा गरेका छन् ।
अस्पताल विकास समितिको अध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेका हुन् । अन्य दलले भने असन्तुष्टि जनाएका छन् । १४ अस्पतालमध्ये कांग्रेस र एमालेले ७–७ अस्पताल विकास समितिको अध्यक्ष आपसमा बाँडेका छन् । विकास समितिका सदस्य पनि छिटै चयन गर्ने तयारी भइरहेको बताइएको छ ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसको सिफारिसमा महेन्द्र लामिछाने नियुक्त भएका छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा एमालेको सिफारिसमा अजयमान श्रेष्ठ नियुक्त भएका छन् । उनी यसअघि पनि विकास समितिको अध्यक्ष थिए ।
प्युठान अस्पतालमा कांग्रेसका कृष्णप्रसाद बसेल, रोल्पा अस्पतालमा कांग्रेसका शेरबहादुर थापा, रामपुर अस्पताल पाल्पामा एमालेका युवराज खनाल, पाल्पा अस्पतालमा कांग्रेसका अजयमान कर्माचार्य विकास समिति अध्यक्ष नियुक्त भएका छन् ।
त्यस्तै भालुवाङ अस्पताल दाङमा एमालेका सूर्यप्रकाश शर्मा, रुकुम पूर्व अस्पतालमा कांग्रेसका लोकेन्द्र शाह, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा एमालेका जगदीश चौधरी, गुल्मी अस्पतालमा एमालेका राजेन्द्रप्रसाद पाण्डे, अर्घाखाँची अस्पतालमा एमालेका बलाराम मिश्र, कपिलवस्तु अस्पतालमा एमालेका रन्जिकुमार बर्मा नियुक्त भएका छन् ।
भीम अस्पताल भैरहवामा कांग्रेसका कुलप्रसाद न्यौपाने अध्यक्ष बनाइएका छन् ।उनीहरूलाई आइतबारसम्ममा नियुक्तिपत्र दिने तयारी भइरहेको प्रदेशको स्वास्थ्य मन्त्रालय स्रोत जनाएको छ ।
सकभर सदस्यहरूको नाम टुङ्ग्याएर सबैलाई एकै पटक नियुक्तिपत्र दिँदै शपथग्रहण गराउने योजना सरकारको रहेको पनि स्रोतले बताएको छ ।