प्रायजसो गर्मी मौसममा नाकबाट रगत बग्ने समस्या धेरैलाई देखापर्छ । बोलीचालीको भाषामा नाकबाट रगत बग्नुलाई ‘नाथ्री फुटेको’ पनि भनिन्छ । अचानक नाकबाट रगत बग्ने समस्याले मानिसहरू डराउँछन् । तर, नाकबाट रगत बग्नुका पनि विभिन्न कारण हुन्छन् । यो समस्यालाई मुख्यतयाः दुई भागमा हेर्न सकिन्छ ।
पहिलो कारण नाकभित्रै हुन्छ । नाक कोट्याउने, नाक चलाइरहने र धेरै सीँ सीँ गर्ने बानी छ भने रगत बग्न सक्छ । नाकमा चोट लाग्दा पनि रगत आउन सक्छ । नाकको पछाडिपट्टिको नसा फुटेर पनि रगत बग्न सक्छ । कहिलेकाहीँ त रगत बग्नुको कारण थाहा नहुन पनि सक्छ ।
दोस्रो, शरीरका अन्य अंगमा हुने कुनै समस्याका कारण नाकबाट रगत आउने हुन सक्छ । मिर्गौला र कलेजोमा कुनै समस्या हुँदा पनि नाकबाट रगत बग्न सक्छ ।
नाकबाट रगत आउने कारण
१.सुख्खा नाकको झिल्ली
नाकको भित्री झिल्ली सुख्खा हुँदा रक्त नलीहरू कमजोर भई फुट्न सक्छ । यो विशेष गरी सुख्खा मौसम, कम आर्द्रता वा धेरै समयसम्म एसिजडित कोठामा बस्दा हुन्छ ।
२.नाकमा चोटपटक
नाकमा चोटपटक लाग्दा रगतका नशाहरू फुट्न सक्छन् र रगत बाहिर निस्किन सक्छ । औँलाले कोट्याउने बानी वा कडा वस्तुले ठोक्किनाले रक्तनली फुट्न सक्छ ।
३.एलर्जी वा सङ्क्रमण
सामान्य भाइरस, रुघाखोकी, पिनास आदि कारणले पनि नाकबाट रगत बग्न सक्छ । त्यस्तै विभिन्न ब्याक्टेरियाका कारण नाकमा संक्रमण फैलिएर पनि रगत बग्न सक्छ । सङ्क्रमणले नाकको झिल्ली सुन्निएर रक्तस्राव हुन सक्छ ।
४.औषधिको प्रभाव
रगत पातलो पार्ने औषधि जस्तै एस्पिरिन, वारफारिन वा नाकमा प्रयोग हुने स्टेरोइड स्प्रेले रक्तस्रावको जोखिम बढाउन सक्छ ।
५.नाकको संरचनागत समस्या
नाकको हड्डी बाङ्गिएको वा नाकमा ट्युमरजस्ता समस्याले पनि रक्तस्राव निम्त्याउन सक्छ ।
६.वातावरणीय कारक
धुलो, धुवाँ, रसायन वा प्रदूषणले नाकको झिल्लीमा जलन पैदा गरी रक्तस्राव हुन सक्छ ।
७.रक्तसम्बन्धी रोग
रगत जम्ने प्रक्रियामा गडबडी जस्तै हेमोफिलिया वा प्लेटलेट्सको कमीले पनि नाकबाट रगत बग्न सक्छ ।
८.अन्य स्वास्थ्य अवस्था
क्यान्सरका कारण नाकभित्र मासु पलाउँदा, ब्लड क्यान्सर, कलेजोसम्बन्धी समस्या र मिर्गौलाको समस्या भएमा रगत आउन सक्छ ।
नेजाेफ्यारिंक्समा समस्या हुँदा पनि रगत देखा पर्छ । नाक र घाँटीसँग जोडिएको भागलाई नेजाेफ्यारिंक्समा भनिन्छ । बच्चाहरूमा सो भागमा मासु पलाएमा वा क्यान्सर भएमा रगत आउन सक्छ ।
उच्च रक्तचाप, मुटुको समस्या, मधुमेह जस्ता रोगका कारण पनि नाकबाट रगत बग्ने सम्भावना रहन्छ । यस्तो समस्या भएका सबैलाई नाकबाट रक्तस्राव हुन्छ भन्ने चाहिँ छैन ।
नाथ्री फुटे के गर्ने ?
नाकबाट रक्तस्राव हुँदा रगत नाकबाट मात्र बाहिर बग्छ भन्ने हुँदैन । नाकबाट घाँटीतर्फ पनि रगत बगेर जान सक्छ । नाकबाटै सिधै रगत झरेमा त्यसलाई सामान्य अवस्थाका रुपमा लिन सकिन्छ ।
तर, रगत घाँटीतिर गयो भने त्यो खतरनाक हुन सक्छ । कहिलेकाहीँ फोक्सोमा रगत गएर फोक्सोको नली बन्द भई मानिसको मृत्यु पनि हुन सक्छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो अस्पताल पुग्नुपर्छ ।
नाकबाट सामान्य रुपमा रगत आएमा प्राथमिक उपचारको रुपमा सिधा बसेर पाँचदेखि सात मिनेटसम्म नाक थुन्नुपर्छ । तर, टाउको पछाडि ढल्काएर वा आकाशतिर हेरेर नाक थुन्नु हुँदैन । यसो गर्दा रगत फोक्सोमा जाने सम्भावना हुन्छ । सीधा उभिएर वा बसेर औँलाले नाक च्याप्दा पनि रगत बग्न रोकिएन भने, चिकित्सकको परामर्श लिनुपर्छ ।
रगत बगेमा चिसो वस्तु वा बरफले सेक्नुपर्छ । सुख्खापन कम गर्न नाकमा भ्यासलिन वा नुनयुक्त पानी (नर्मल सलाईन) को स्प्रे प्रयोग गर्न सकिन्छ ।
यदि रक्तस्राव बारम्बार हुन्छ, धेरै समयसम्म रोकिँदैन, वा अन्य लक्षणहरू जस्तै चक्कर, कमजोर देखिन्छ भने तुरुन्त विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्छ ।