पछिल्लो समय नेपालमा मिर्गौला उपचारको क्षेत्रमा ठुलो सुधार आएको छ । मिर्गौला रोगीको सङ्ख्या बढेसँगै यसको उपचारमा पनि विशिष्टिकृत हुँदै गएको हो । नेपालमा सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको सुरुवात गरिएको थियो ।
त्यसअघि मिर्गौला प्रत्यारोपण गर्नुपरेमा छिमेकी मुलुक भारत र अन्य मुलुक जानुपर्ने अवस्था थियो ।पैसा हुनेले विदेश गएर उपचार गर्ने गरे पनि पैसा नहुनेले भने स्वदेशमा राम्रो उपचार नपाउँदा अकालमै मृत्युवरण गर्नुपरेको हुन्थ्यो । टिचिङ अस्पतालसँगै क्रमशः अन्य अस्पतालहरूमा यो सेवाको विस्तार भएको छ । निजी क्षेत्रबाट सबैभन्दा पहिले मिर्गौला प्रत्यारोपण शुरुवात गर्ने अस्पताल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल हो ।
हाल एक दर्जनभन्दा बढी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ ।बर्सेनि चार सयको हाराहारीमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । हाल नेपालमा जटिल खालका मिर्गौला प्रत्यारोपण पनि सम्भव रहेको छ ।
भिन्न रक्त समूहका व्यक्तिले पनि मिर्गौला प्रत्यारोपण गर्न पाउने छन् । मिर्गौला उपचारका लागि विश्वका विकास भएका सबै प्रविधि अहिले नेपालमा भित्रिएका छन् । मिर्गौला प्रत्यारोपण मात्र नभएर यससम्बन्धी जटिल रोगको पनि नेपालमा उपचार हुँदै आएको छ । मिर्गौला उपचारका लागि अहिले विदेश जानुपर्ने अवस्था छैन ।
समयमै मिर्गौला रोग पत्ता लगाउन सके कम खर्चमा यस रोगको उपचार गरी मिर्गौला रोग पूर्णरूपमा निको हुने हुन्छ । मिर्गौला रोग लागेका बिरामीले समयमै जाँच नगर्दा अन्तिम अवस्थामा बिरामी अस्पताल आउने गरेको पाइन्छ ।
मिर्गौला फेल भइसकेपछि बिरामी अस्पताल पुग्दा यसको उपचारका लागि धेरै खर्च लाग्छ । मिर्गौला प्रत्यारोपण र डायलाइसिस दुवै महँगो विधि हो । मिर्गौला को रोग समयमै पत्ता नलाग्दा नेपाल जस्तो मुलुकका लागि मात्र नभई विश्वकै लागि ठुलो आर्थिक भार थपेको छ । हाल सरकारले मिर्गौला बिरामीको उपचारका लागि सहयोग गर्दै आएको छ ।
सरकारले मिर्गौला प्रत्यारोपणका लागि सरकारी अस्पतालमा चार लाख ५० हजार र औषधीका लागि एक लाख सहयोग गर्दै आएको छ । यस्तै, बिमामा आबद्ध भएका बिरामीलाई बिमाबाट पनि औषधी दिने व्यवस्था गरेको पाइन्छ ।
यस्तै, डायलाइसिसका लागि पनि सहयोग गर्दै आएको छ । डायलाइसिसको सुविधा गाउँमा नहुँदा सहरी क्षेत्रमा आएर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । सहरी क्षेत्रमा आएर कोठा खोजेर हिमोडायलाइसिस गराउँदा खर्च महँगो हुँदै गएको छ । डायलाइसिस हप्ताको २ देखि ३ पटकसम्म गर्नुपर्ने हुन्छ । अरू रोगको तुलनामा मिर्गौला उपचारमा ठुलो आर्थिक भार पर्ने गरेको छ । पेटमा हुने डायलाइसिस घरमै बसेर गर्न सकिन्छ। पाँच प्रतिशत बिरामीले मात्र पेरिटोनियल (घरमै बसेर गर्न मिल्ने डायलाइसिस) गरिरहेका छन् । हिमो डायलाइसिस (मेसिनबाट गरिने) डायलाइसिस हो ।नेपालमा यो डायलाइसिस अस्पतालमा मात्र गरिन्छ ।
नेपालमा मिर्गौला का बिरामी दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । मिर्गौला रोग हुने मुख्य कारणमा मधुमेह (सुगरको रोग) र उच्च रक्तचाप नै हो । यसबाहेक ग्लोमरुलोनेफ्राइटीस, पत्थरी, वंशाणुगत रोग र विभिन्न किड्नी बिगार्ने औषधीको सेवनले गर्दा हो । विदेशी मुलुकमा श्रम गर्न गएका नेपालीलाई बढी मात्रामा मिर्गौला को रोग देखा परेको पाइन्छ ।
खानपान नमिल्ने, लामो समय काम गर्नुपर्ने, समयमै उपचार नहुनु आदि तनावका कारण यो रोग विदेश काम गर्न गएका नेपालीलाई लाग्ने गरेको पाईन्छ । मिर्गौला फेल भएपछि गरिने उपचार पद्दती ज्यादै महंगो भएकाले समयमै मिर्गौला रोग लाग्न नदिनु वा समयमै पहिचान गरि त्यसको उपचार गर्दा यसको जोखिमबाट बच्न सकिन्छ । त्यसैले मिर्गौला रोगको जोखिममा रहेका विरामीले यसको नियमित परिक्षण गर्नुपर्छ ।
परिवारमा मिर्गौला रोग भएका व्यक्ति, मधुमेहका रोगी, उच्च रक्तचाप भएका व्यक्ति, मिर्गौला मा पत्थरी भएका व्यक्तिले मिर्गौलाको नियमित जाँच गर्नुपर्छ । त्यो बाहेक कुनै लक्षण जस्तै, जीउ सुनिन्ने, खुट्टाको गोलीगाँठा सुन्निने, आँखाको डिल सुन्निने, पिसावको रङ धमिलो हुने, घाममा हिँड्दा गाला रातो हुने पिसावमा अत्याधिक फिँज आउने या कोखा दुख्ने, पिसाव छिनछिनमा आउने, जोर्नी, दुख्ने वा पोल्ने यस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सक कहाँ गई उपचार गनुपर्ने हुन्छ ।
यस्तै, दुखाई कम गर्ने औषधी लामो समय प्रयोग गर्दा मिर्गौलालाई खराब गर्ने भएकाले त्यसको प्रयोग गर्दा चिकित्सकको सल्लाह लिएर मात्र लिने गर्नुपर्छ । चिकित्सकको सल्लाह विना औषधी प्रयोग नगर्ने, यस्ता रोग सुरुको अवस्थामा पत्ता लागेमा अधिकाशं रोग निको हुन्छ । मिर्गौला प्रत्यारोपणबाट बच्न सकिन्छ ।
मिर्गौला रोगबाट बच्न र नियन्त्रणमा राख्न खानपानमा विशेष ध्यान दिने, सुख्खा खाना (जंक फुड) नखाने, प्रशस्त मात्रामा फलफूल, सागपात तथा पानी पिउनुपर्छ । नियमित व्यायाम गर्ने, गुलियो खानेकुरा नखाने, गुलियो पेय पदार्थ सकेसम्म नखाने गर्नुपर्छ । अत्याधिक नुन भएका खानाहरु कम खाने गर्नुपर्छ । यसबाहेक तनाव कम गर्नका लागि व्यायाम, योगा, ध्यान गर्नुपर्ने हुन्छ । दैनिक ६ घण्टादेखि ८ घण्टासम्म सुत्ने गर्नुपर्छ । आफ्नो तौल नियन्त्रण गर्ने गर्नुपर्छ । कुनै रोग नलागे पनि ३० वर्षभन्दा माथिका व्यक्तिले आफ्नो स्वास्थ्य परीक्षण गर्ने गर्नुपर्छ । मिर्गौला रोगको जोखिममा रहेका व्यक्तिहरुले आफनो ब्लडप्रेसर, सुगर र पिसावको जाँच नियमित गर्नुपर्छ ।