प्रसूति व्‍यथाले छट्पटिएकी महिलाले प्रहरीको सहयोगमा सडकमै जन्माइन् बच्चा

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०८२, मंगलवार

नेपालगन्जःकैलालीमा सुत्केरी व्यथाले छट्पटिएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई प्रहरीले उद्धार गरेको हो । प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन् । प्रहरी जवान देउवा खैराना प्रहरी चौकीमा कार्यरत छिन् ।

एक महिलाले अस्वभाविक व्यवहार देखाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि देउवा घटनास्थल चैतन्यपुर पुगेकी थिइन् । प्रहरी जवान देउवाले भनिन्, ‘स्थानीय नजिक गएर सोधखोज नगरेका ती महिला भने सुत्केरी व्यथाले छट्पटाएकी रहिछिन् । कोही नजिक जान पनि नमान्ने, छुन पनि नमान्ने रहेछन् ।’

उनी घटनास्थल पुगेर ती महिलालाई उद्धार गरेर अस्पताल लैजाने तयारीमा थिइन् । तर व्यथाले च्यापेकी ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै शिशुलाई जन्म दिएकी छिन् । यो मंगलवार बिहान ९ बजेतिरको घटना रहेको उनले बताइन् । त्यसपछि ती महिलालाई अत्तरियास्थित पद्मा अस्पताल पठाइएको देउवाले बताइन् ।

उनका अनुसार ती महिला बेवारिसे अवस्थामा बस्ने रहिछन् । ‘घर कहाँ, के गर्ने केही पनि थाहा छैन । उहाँ पीडामा भएकाले केही पनि बोल्न सक्नु भएन । मानसिक रुपमा पनि उहाँ स्वस्थ नरहेको भन्ने बुझिएको छ,’ उनले भनिन् । अन्दाजी ३०–३५ वर्षकी ती महिला विवाहित हुन् वा होइनन् पनि यकिन हुन सकेको छैन ।

  • ६ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech