सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा पढाइ सुरु गर्न माग

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०८२, मंगलवार

धनगढीः सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले कैलालीको गेटास्थित नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आउँदो आर्थिक वर्षबाट चिकित्सा पढाइ सुरु गर्न माग गरेको छ ।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभाबाट आइतबार पारित भएपछि समितिले खुशी व्यक्त गर्दै चिकित्सा पढाइ चाँडै सञ्चालन गर्न माग गरेको हो । समितिले सरकार, प्रतिनिधि सभा, सांसद् र सबै पहलकर्तालाई धन्यवाद दिएको छ ।

यसैका लागि विगत वर्षदेखि नै सङ्घर्ष गर्दै आएको समितिले विधेयक पारितले थोरै भएपनि नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयले मूर्त रुप पाएको पत्रकार सम्मेलन गरेर जनाएको छ । संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) विधेयक पारित हुनु ठुलो सफलता रहेको बताए ।

उनले विश्वविद्यालय पूर्ण रुपमा सञ्चालनमा नआएसम्म समितिको आन्दोलन नरोकिने उल्लेख गर्दै ऐनमा टेकेर आगामी आर्थिक वर्षबाट चिकित्सा पढाइ र ६०० श्य्याको अस्पताल सञ्चालन गर्न सरकारसँग माग गरे ।

यसका लागि समितिले आगामी आर्थिक वर्षमा कम्तीमा चार अर्बसम्म बजेट छुट्याउन संघीय सरकारलाई आग्रह गरेको छ । बनेको संरचनालाई कुनै पनि हालतमा वर्वाद हुन नदिने संघर्ष समितिको जिकिर छ । तीन वर्षमा १३६ वटा आन्दोलन पश्चात यो उपलब्धि हात लागेको जनाइएको छ ।

आर्थिक वर्ष २०६६-६७ मा सरकारले गेटा मेडिकल कलेज बनाउने घोषणा गरेर भौतिक संरचना निर्माणको काम अगाडि बढाएको थियो । डेढ दशकको अवधिमा विभिन्न आरोह अवरोधकाबिच नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनेको छ ।

पूर्व सांसद् डा दीपकप्रसाद भट्टले विधेयक पारित भइसकेको अवस्थामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिलाई अझ रचनात्मक र सृजनात्मक भएर काम गर्न आग्रह गरे।

उनले संघर्ष समिति अब सहयोगी समिति बन्नु पर्ने भन्दै थपे,“सबैको संघर्षले यो विश्वविद्यालय बनेको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र महाकाली अस्पताललाई आंगिक बनाएर अब यसलाई अगाडि बढाउनु पर्दछ ।”

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो चरणमा नै न्यूनतम् भौतिक संरचना बनिसकेको थियो । त्यति बेलै विधेयक पारित भइ दिएको भए अहिलेसम्म विश्वविद्यालयको काम धेरै अगाडि बढी सक्ने पूर्वाधार निर्माण समितिका पूर्व अध्यक्ष हेमराज पुजाराको भनाइ छ । उनले विश्वविद्यालय ल्याउन संघर्ष समितिको ठुलो योगदान रहेको चर्चा गरे ।

ऐन आउँदैमा सबै कुरा आएको होइन भन्दै पुजाराले आवश्यक जनशक्ति, उपकरण व्यवस्थापन र चिकित्सा पढाइ सञ्चालनका लागि पर्याप्त मात्रामा बजेट आवश्यक पर्ने उल्लेख गरे । उनले यसका लागि आवश्यकतानुसार बजेट छुट्याउनका लागि पहल गर्न सबैलाई आग्रह गरे ।

कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा सुरेन्द्र चन्दले संघर्ष समितिको अथक प्रयासमा उपलब्धि हासिल भएको बताए । यसलाई अगाडि बढाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

  • ६ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech