नेपालगन्जः काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको परिसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एमपिएचएल) छ । आईएसओ मान्यता प्राप्त नेपालको एक मात्र सरकारी प्रयोगशाला भएकाले यहाँ स्वास्थ्य परीक्षणका लागि आमनागरिकहरुको भीड त लाग्छ नै विशेष प्रकारका रोगहरुको परीक्षण समेत गर्ने गरिएको छ । परीक्षणका लागि देशका विभिन्न अस्पतालहरुबाट स्याम्पल प्रयोगशालामा जाने गरेको छ ।
‘रोगको खोजपडताल, निदान, रोकथाम, उपचार, अनुसन्धान र स्वास्थ्य प्रवद्र्धनमा हामी नीतिगत पैरवी समेत गर्दै आइरहेका छौं प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले नेपालगन्जमा विहीबार आयोजित एउटा कार्यक्रममा भने–‘पब्लिक हेल्थसँग जोडिएका कार्यक्रमलाई सबैले राष्ट्रिय अभियानका रुपमा ग्रहण गरेर सहयोग गर्नुपर्छ ।’
रोगको पहिचान, निदान, उपचार र रोकथामको लागि स्वास्थ्य प्रयोगशाला सेवालाई समयसापेक्ष सुदृढीकरण गरी क्रमिक रुपमा स्थानीयस्तरसम्म बिस्तार गरिनु अहिलेको आवश्यकता रहेकोमा उनको जोड छ । भेरी अस्पतालका फिजिसियन, बालरोग विशेषज्ञ, मेडिसिन विभाग, प्रयोगशालाकर्मी लगायत सम्मेलित उक्त कार्यक्रममा निर्देशक डा.भट्टले भेरी अस्पतालले परीक्षणको दायरा बढाएर सम्भावित महामारीको जोखिम नियन्त्रणमा सघाउन पनि आग्रह गरे ।
भाइरसको ट्रेन्ड पत्ता लगाउने भनेकै त्यसको परीक्षण भएकाले कम्तिमा त्यस्ता स्याम्पलहरु संकलन गरेर परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाउन उनले आग्रह गरे । महामारी अगावै त्यसको पहिचान गर्न सकिए रोग नियन्त्रणमा ठूलो सहयोग पुग्ने र त्यस्ता महामारीविरुद्ध नीति बनाउन सहज हुने पनि उनले भनाइ छ । भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले अस्पतालले परीक्षणको दायरा बढाउने प्रतिवद्धता जनाए । उनले संकलित स्याम्पल परीक्षणका लागि पठाउनै चुनौति रहेको बताए । ‘संकलित स्याम्पलको ट्रान्सपोटेसन नै परीक्षण शुल्क भन्दा पनि महंगो पर्न जान्छ उनी भन्छन्–‘यसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पनि हाम्रो सम्झौता भएको छ । अव केही विकल्प निकालेर सहजता खोज्ने प्रयास रहनेछ ।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का डा.प्रणित शर्माले परीक्षण दर बढाउँदा इन्फ्लुएन्जा भाइरसको जोखिम पहिचानमा सहजतासँगै त्यसको रोकथामका लागि राज्यलाई नीति बनाउन सहज हुने बताए । राष्ट्रिय प्रयोगशालाका सह प्रमुख मेडिकल ल्याव टेक्निसियन बालकृष्ण अवालले परीक्षण दर बढाउँदा सम्भावित महामारी व्यवस्थापनमा सहजता हुने उल्लेख गरे ।