नर्सहरूको कार्यबोझ र पेसागत पलायन

    • मेनुका भण्डारी

  • १ जेष्ठ २०८२, बुधबार

स्वास्थ्य क्षेत्रमा नर्सहरूले उल्लेखनीय धैर्यता र नवीनताको प्रदर्शन गरिरहेका छन् । बढ्दो जटिल चुनौतीका बीचमा जस्तोसुकै दीर्घ रोगहरूको बढ्दो बोझ व्यवस्थापन गर्नेदेखि लिएर सामुदायिक स्वास्थ्य प्रवर्द्धनसम्मका काम उनीहरूले कुशलतापूर्वक निर्वाह गरिरहेको पाइन्छ । स्वास्थ्य सेवा प्रदानमा नेपाली नर्सले नेतृत्व दिँदै आएका छन् । तर नर्सहरूको सुस्वास्थ्यप्रति प्रणालीगत उपेक्षाले भने स्वास्थ्यकर्मीको अभावलाई अझ गम्भीर बनाइरहेको छ । अपर्याप्त कार्य वातावरण र न्यून पारिश्रमिक, चर्किंदो कार्यभार र भावनात्मक थकानको संयुक्त असरले नेपाली नर्सहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।

यसै कारण धेरै नर्सहरू पेसा छोड्ने दिशातर्फ उन्मुख भइरहेका छन् । वास्तवमा यो चिन्ताजनक अवस्था हो । नेपाल नर्सिङ काउन्सिल (एनएनसी) का अनुसार विभिन्न श्रेणीका हालसम्म दर्ता भएका नर्सहरू १ लाख २२ हजार ३ सय १३ छन् । जसमा दर्ता भएका नर्स, सहायक नर्स मिडवाइफ, मिडवाइफ र विशेषज्ञहरू समावेश छन् । एक अध्ययन अनुसार सक्रिय श्रमिकका रूपमा नेपालमा ४५ हजार नर्स सक्रिय छन् । यीमध्ये करिब १८ हजार सरकारी अस्पतालमा, १७ हजार नर्स निजी स्वास्थ्य संस्थामा र ५ हजार नर्स शैक्षिक संस्थामा कार्यरत छन् । लगभग २० देखि ३० हजार नर्सहरू कम रोजगार र बेरोजगार छन् । यद्यपि देशमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि नर्सहरूको ठूलो आवश्यकता छ । करिब २२ हजार नर्सलाई आधिकारिक रूपमा विदेश जान अनुमति दिइएको छ । अन्य धेरै नर्स वैदेशिक भिसाको प्रक्रियामा छन् ।

बाँकी विद्यार्थी वा पर्यटक भिसाद्वारा विदेश गएको पाइएको छ । नेपालका नर्सहरूको मुख्य चुनौती कम तलब र कमजोर कार्य वातावरण नै हो । नेपाल सरकारले निर्धारण गरेको स्टाफ नर्सको न्यूनतम तलब नीति भए पनि धेरै नर्सले प्रतिमहिना १० देखि २५ हजार रुपैयाँ मात्र कमाउँछन् । जसमा अतिरिक्त घण्टाको तलब र रोजगार सुरक्षा पनि छैन । व्यावसायिक उन्नतिको कमी पनि उनीहरूले झेलिरहेको अर्को समस्या हो । घरेलु स्वास्थ्य क्षेत्रमा पेसेवर उन्नतिको सीमित अवसरले धेरै नर्सलाई विदेश जान प्रेरणा दिइरहेको छ । उच्च कार्यभार र थकान पनि उनीहरूले बेहोर्नुपरेको अर्को समस्या हो । बिरामी र नर्सको अनुपात नमिल्दा र कडा सिफ्टहरूका कारणले थकित हुन्छन् । जसले गर्दा कार्य असन्तुष्टि बढेको छ । अपर्याप्त पूर्वाधारले पनि उनीहरूलाई समस्या पारिरहेको छ । नेपालका स्वास्थ्य संस्थाहरूमा आवश्यक स्रोतसाधन र प्रणालीको कमीका कारण नर्सहरूका समस्या बढिरहेका छन् ।

यिनै समस्याका कारण पनि नेपालका नर्स संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाजस्ता देशतर्फ आकर्षित भइरहेका छन् । जसले गर्दा दर्ता भएका नर्सहरूको ठूलो संख्या भए तापनि नेपालका स्वास्थ्य संस्थामा नर्सहरूको अभाव देखिएको हो । उदाहरणस्वरूप वीर अस्पतालमा ५ सय ५० बेडमा पुग्नका लागि कम्तीमा ९ सय ३८ नर्स आवश्यक पर्छ, तर हाल केवल ४ सय नर्स कार्यरत छन् । यस्तै, कान्ति बाल अस्पतालमा ६ सय नर्सको आवश्यकता भए पनि हाल १ सय ६९ मात्रै कार्यरत छन् । घरेलु स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई टिकाउनका लागि प्रेरणा बढाउने, प्रोफेसनल विकासका अवसरको विस्तार गर्नु जरुरी छ ।

नर्सहरूको वृत्ति विकासका लागि तालिमका अवसर, अध्ययन बिदा, प्रशिक्षण कार्यक्रम र स्पष्ट करियर प्रगति पथ उपलब्ध गराएर उनीहरूलाई देशको स्वास्थ्य क्षेत्रमा काम गर्न प्रेरित गर्न सकिन्छ । त्यसैगरी स्वास्थ्य पूर्वाधार सुदृढ गर्न स्वास्थ्य संस्थाहरूमा लगानी गरेर नर्सहरूको कार्यभार घटाउन र कार्य सन्तुष्टि बढाउन सकिन्छ । नेपालको स्वास्थ्य प्रणालीमा नर्सहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । उनीहरूले बिरामीको हेरचाह मात्रै गर्दैनन्, स्वास्थ्य सेवा प्रणालीको प्रभावकारिता र स्थायित्वमा पनि योगदान दिएका छन् । जब नर्सहरूको भलाइ र हेरचाहमा सुधार हुन्छ, यसले स्वास्थ्य प्रणालीलाई मात्र सुदृढ बनाउँदैन, समग्र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्दछ । नर्सहरूको राम्रो हेरचाह र कार्य वातावरण सुधार गर्दा उनीहरूको कार्यक्षमता र दक्षता पनि बढ्छ ।

नेपालमा नर्सहरूको पलायन र अनुपस्थिति एक ठूलो समस्या हो । नर्सहरूको उचित हेरचाह, राम्रो कार्य परिस्थिति र उचित तलबका माध्यमबाट यो समस्यालाई कम गर्न सकिन्छ । जब नर्सहरूले आफ्नो कामको मूल्य र सम्मान महसुस गर्छन्, उनीहरूको काममा स्थिरता बढ्छ र स्वास्थ्य प्रणालीमा सुधार आउँछ । नेपालमा नर्सहरूको कार्यमा निरन्तर सुधार र उनीहरूको शिक्षा तथा पेसागत विकासमा लगानी गर्दा नर्सहरूले उच्च नेतृत्वको भूमिका सम्हाल्न सक्छन् । यसले स्वास्थ्य सेवा क्षेत्रमा उच्च गुणस्तरको सेवा सुनिश्चित गर्दछ र दीर्घकालीन प्रभावमा स्वास्थ्य प्रणालीको दिगोपनमा मद्दत पुर्‍याउँछ । नर्सहरूको उचित तलब, भलाइ र वृत्तिविकासका अवसरहरूले उनीहरूको आर्थिक स्थिति सुधार्न मद्दत पुर्‍याउँछ । यसले उनीहरूलाई स्थिरता र समृद्धिको अवसर दिन्छ, जसले राष्ट्रको समग्र अर्थतन्त्रमा योगदान पुर्‍याउँछ ।

यसबाट नेपालका नर्सहरूको आर्थिक योगदान र देशको समृद्धिमा वृद्धि हुन्छ । नर्सहरूको हेरचाह र कार्य परिस्थितिमा सुधार गर्दा स्वास्थ्य सेवा प्रणालीको दीर्घकालीन स्थिरता र क्षमता सुनिश्चित हुन्छ । पर्याप्त संख्यामा नर्सहरूको व्यवस्था गर्न सकियो भने त्यसले उनीहरूलाई अत्यधिक कार्यभार र थकानबाट बचाउँछ । समय–समयमा नर्सहरूको ‘वर्कलोड’को मूल्यांकन गर्न र आवश्यकतानुसार कार्यभारमा समायोजन गर्न प्रविधिको प्रयोग गर्नु जरुरी छ । यसले बिरामीको हेरचाहमा सुधार ल्याउँछ र नर्सहरूको मानसिक र शारीरिक स्वास्थ्यलाई सुरक्षित राख्छ । नर्सहरूको भलाइमा लगानी गर्दा, उनीहरूले आफ्नो पेसामा सन्तुष्टि र उत्कृष्टता प्राप्त गर्छन्, जसले नेपालका नागरिकको स्वास्थ्य र समृद्धिमा योगदान पुर्‍याउँछ । नर्सहरूलाई स्वास्थ्य नीति र निर्णय लिने प्रक्रियामा समावेश गर्दा उनीहरूको पेसागत सन्तुष्टि र स्वास्थ्य सेवा सुधारमा सकारात्मक प्रभाव पार्दछ ।

(भण्डारी त्रिवि विराटनगर नर्सिङ क्याम्पसकी प्रमुख हुन् )

  • १ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech