अन्तर्राष्ट्रिय नर्स दिवसः वेस्टर्न हस्पिटलद्वारा ‘मेकानिकल भेन्टिलेसन’ कार्यशालाको आयोजना

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०८२, सोमबार

नेपालगन्जः वेस्टर्न हस्पिटल, नेपालगन्जले ‘मेकानिकल भेन्टिलेसन’ विषयक एक दिवसीय विशेष कार्यशाला गरेको छ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा सोमवार कार्यशाला गरिएको हो । नर्सिङ सशक्तिकरण कार्यक्रम २०८१ अन्तर्गत वेस्टर्न नर्सिङ कलेजको सभाहलमा सम्पन्न उक्त कार्यशालामा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट आएका ४० जना नर्स तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यशालाले सहभागीहरूलाई गहन उपचार सेवामा अत्यावश्यक मेकानिकल भेन्टिलेसन सम्बन्धी सैद्धान्तिक ज्ञान, व्यवहारिक प्रयोग, उपकरणको सटिक प्रयोग, तथा बिरामी हेरचाहमा आवश्यक सावधानीबारे अभिमुखीकरण गराइएको हस्पिटलले जनाएको छ । कार्यशालाका वक्ताहरूले गहन उपचार सेवामा नर्सहरूको अतुलनीय भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू स्वास्थ्य सेवा सुधारमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

वेस्टर्न हस्पिटलले प्रमाण–आधारित अभ्यास र निरन्तर तालिमलाई प्राथमिकता दिदै नर्सहरूको क्षमता अभिवृद्धिमा लगातार योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस्ता तालिमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिइएको छ ।

वेस्टर्न हस्पिटलका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक कन्सल्टेन्ट सर्जन डा. विनोद कुमार थापा, वरिष्ठ अर्थोपेडिक कन्सल्टेन्ट सर्जन डा. किरण गुरुङ, वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा कार्यशाला निर्देशक डा. पारस पाण्डे, कन्सल्टेन्ट आपतकालीन चिकित्सा विज्ञ डा. सलमान निजाम, तथा कार्यक्रम संयोजक तथा वेस्टर्न हस्पिटल नर्सिङ विभाग प्रमुख सन्दीपा शाक्यले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाल मेडिकल एशोसिएसन, भेरी शाखाका अध्यक्ष डा. रूपानन्द अधिकारी, डा. निर्मल ज्ञवाली लगायत अन्य विशिष्ट व्यक्तित्व, वरिष्ठ चिकित्सकहरू तथा प्रशासकीय पदाधिकारीहरूको उपस्थिति थियो । “Empowering Nurses, One Breath at a Time” भन्ने नारासहित भएको कार्यशालाले आधुनिक उपकरणमार्फत जीवनरक्षक उपचारमा नर्सहरूको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको हस्पिटलले जनाएको छ ।

  • २९ बैशाख २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech