नेपालगन्जः योग समिति नेपाल, केन्द्रिय कार्यालय नेपालगञ्जको आयोजनामा शनिवार खजुरा गाउँपालिका वडा नं.२ मा ३७ औं योग केन्द्रको उद्घाटन एक भव्य समारोहबीच सम्पन्न भएको छ । खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले केन्द्रको उद्घाटन गरिन् । उपाध्यक्ष मल्लले स्वस्थ जीवनशैली ज्यूँउन प्रेरित गर्दै आएको योग समितिलाई पालिकाले प्राथमिकता दिएको बताइन् ।
योग समिति नेपाल केन्द्रिय कार्यालय नै बाँके जिल्लामा रहेकाले खजुरा गाउँपालिकाले पनि योग समिति नेपालले चालेको अभियानलाई प्राथमिकता दिइएको उनको भनाइ छ।उनले पालिकाको हरेक कार्यक्रमा योग समिति नेपालसँग समन्वय गर्दै अघि बढ्ने र सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
डि.बि तामाङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन भने समितिका केन्द्रिय सचिव चिरञ्जीवी ज्ञवालीले गरेको थिए । कार्यक्रमको उद्देश्य माथि ३७ औं योग केन्द्रका प्रमुख संयोजक बेद बहादुर ओलीले प्रष्ट्याएका थिए ।
त्यसक्रममा ३७ औं योग केन्द्र व्यवस्थापन समिति समेत गठन गरिएको छ । बेद बहादुर ओली क्षेत्री संयोजक रहने गरी समिति गठन गरिएको हो । यस्तै समितिको सहसंयोजकमा गोबिन्द बहादुर रावत र मिना चन्द रहेका छन् ।
सदस्यहरूमा शिब भण्डारीm भुपेन्द्र पोखरेल, बिनु ओली, टोपसरा वली, सुनिता रावत, जानुका रोकाय, रेखा बिक, खिमा शर्मा र इन्द्र योगी रहेका छन् । त्यसैगरि सल्लाहकारमा खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल रहेकी उपाध्यक्ष लोकमाया सुवेदी सुमित्राले जानकारी दिइन् ।