चिकित्सक संघ र सरकारबीच सहमति, आन्दोलन फिर्ता

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०८२, आईतवार

काठमाडौंः नेपाल चिकित्सक संघ र सरकारबीच सहमति भएको छ । शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र नेपाल चिकित्सक संघबीच भएको छलफलपछि सहमति जुटेको हो ।

सहमति भएसँगै चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने सम्झौता भएसँगै आवासीय चिकित्सकहरु आन्दोलन छोड्न सहमत भएका हुन् ।

सहमतिसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको जानकारी दिए ।

‘प्रतिवद्धता गरिसकेपछि नेपाल चिकित्सक संघ यो आन्दोलन उहाँहरुको घोषित कार्यक्रम थियो, त्यसलाई उहाँहरु फिर्ता लिन तयार हुनुभएको छ,’ मन्त्री पौडेलले भने, ‘उहाँहरूसँग भएको सम्झौतालाई हामीले इमान्दारितापूर्वक कार्यान्वयन गर्नेछौँ । केही विषयहरु जुन चिकित्सा शिक्षा आयोगले निर्णय गरेको थियो, त्यसलाई कार्यान्वयन छिटो नभएको, सहज ढंगबाट नभएको विषय उहाँहरूको पछिल्लो विषय थियो । त्यसलाई छिटो कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिष्ठानअन्तर्गतका कलेजहरु पनि क्रमशः कार्यान्वयन गर्न तयार भएको स्थिति छ ।’

  • २१ बैशाख २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech