काठमाडौँ । सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरु सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख छ । हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरि कार्यक्रमहरु सञ्चालन गरिने राष्ट्रपति पौडेलले बताए ।
यस्तै निरोगी नेपाल अभियान अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गरिने भएको छ । ‘सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य गरिनेछ,’ राष्ट्रपति पौडेलले भने,‘स्वास्थ्य प्रणालीको विकास जनसंख्या,भूगोल र रोगको आधारमा गरिने छ ।’
साथै स्वास्थ्य जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवाका लागि संघीय स्वास्थ्य सेवा ऐन र स्वास्थ्य सेवाको गुणस्तर नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्ययन प्राधिकरण ऐन तर्जुमा गरिने उनले बताए ।