सर्जन डा कृष्णमोहन अधिकारीः जसले नेपालगन्जमै गरिरहेका छन् पेट सम्वन्धी जटिल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०८२, सोमबार

नेपालगन्जः डा कृष्णमोहन अधिकारीको अनुभवले भन्छ–‘हरेक शल्यक्रिया जटिल हुन्छन् । शल्यक्रियाका क्रममा निम्तनसक्ने स्वास्थ्य जटिलताको व्यवस्थापनकालागि जतिखेर पनि चिकित्सक तयारी अवस्थामा रहनुपर्छ ।’ भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा अधिकारी शल्यक्रियाका क्रममा हुन सक्ने जटिलताका लागि सधैँ तयारी अवस्थामा रहन्छन् । उनी भेरी अस्पताल आएको करिव डेढ वर्ष भयो । यो अवधिमा पेट सम्वन्धी जटिल खालका सयौं शल्यक्रिया उनको नेतृत्वमा भइसकेका छन् । उनै डा अधिकारीले स्वास्थ्य पेजसँग उपचार अनुभव साटेका छन् ।

वरिष्ठ कन्सल्टेन्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा कृष्णमोहन अधिकारी

मलद्धार नै खसेर आएका ती बिरामी…

भेरी अस्पतालको आकस्मिक कक्षमा पुगेका करिब ४५ वर्षका युवकको अवस्था अत्यन्तै नाजुक थियो । डा अधिकारी भेरी अस्पताल आएको महिना दिन पनि पुगेको थिएन् । त्यो क्षण डा अधिकारी कहिल्यै भुल्दैनन् । कैलाली धनगढीबाट आएका ती बिरामीको मलद्धार कुहिएर पुरै खसेको अवस्था थियो । बिरामी थकित मुद्रामा थिए । उनी धनगढीका सबै अस्पताल पुगे तर सन्चो भएन । उनी काठमाडौं जाने तयारीमा थिए ।

नेपालगन्जमा पेट सम्वन्धी विशेषज्ञ डाक्टर आएको थाहा पाएका रहेछन् । डा अधिकारीलाई एक पटक भएपनि रोग देखाउ भनेर भेरी अस्पतालमा आए । आवश्यक चेकजाँच गर्दा उनको मलद्धारमा क्यान्सर पुष्टि भयो । मेडिकल भाषामा यसलाई कम्पिलिट रेक्टल प्रोल्याप्स भनिन्छ । तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आयो । डा अधिकारीको नेतृत्वमा शल्यक्रिया भयो । बिरामी तयार भए । अहिले पनि डा अधिकारीलाई ति बिरामीले भेटिरहन्छन् ।

दिसापिसाव रोकिएर आएका ती बिरामी…

२०८० साल माघको पहिलो साता तिर हो । बाँके खजुरा गाउँपालिका–३ का ५६ वर्षीय पुरुषको अचानक दिसापिसाव रोकियो । अस्पतालमा स्वास्थ्य जाँच गर्दा उनको ठूलो आन्द्रामा क्यान्सर फैलिएको थाहा भयो । उनको डुमडुम्ती पेट फुलेको थियो । दिसा नै गएको थिएन । उनी पिडाले छटपटाइरहेका थिए । डा अधिकारीको टिमले तुरुन्तै शल्यक्रिया गरयो । शल्यक्रिया सफल भयो । उनको ज्यान बाँच्यो । अस्पतालबाट करिब एक हप्तामा डिस्चार्ज भएर घर फर्कदा उनी मुसुक्क मुस्कुराए । शल्यक्रियापछि बाँचेर मुसुक्क मुस्कुराएर घर फर्किएको त्यो क्षण सम्झँदा डा अधिकारीको मन शान्त हुन्छ । आनन्द महसुस गर्छन् उनी अहिले पनि ।

अन्तिम रिफरल बिन्दु भेरी अस्पताल…

विशेष गरी खाना नलीदेखि मलाशय र मलद्वारसम्मको स्वास्थ्य समस्या भएका बिरामीको औषधि उपचार तथा शल्यक्रिया गर्नु डा अधिकारीको दैनिकी हो । त्यसै गरी आन्द्राको घाउ, पित्त नली, पित्त थैली, पाचन तथा पेटजन्य ट्युमर लगायतको शल्यक्रियामा उनी तल्लीन हुन्छन् । जुन जटिल शल्यक्रियामा पर्छन् । भेरी अस्पतालको ग्याष्टो सर्जरी विभागमा क्यान्सर, ट्युमर लगायतका स्वास्थ्य समस्या भएका बिरामी शल्यक्रियाका लागि पुग्छन् । बिशेषगरी क्यान्सर फैलिएर बचाउनै नसक्ने अवस्थामा पुगेका बिरामी देख्दा उनको मन भारी हुन्छ ।

उनी सोच्छन्–‘चाँडै थाहा भएको भए बचाउन सकिन्थ्यो की ?’ सामान्यतः भेरी अस्पताल सरकारी अस्पतालमध्ये रिफरको अन्तिम बिन्दुका रूपमा समेत परिचित हुँदै आएको छ । उनी भन्छन्–‘पेट सम्वन्धी समस्या भएका बिरामीहरु अव नेपालगन्ज बाहिर जानु पर्ने स्थिति छैन । कलेजो प्रत्यारोपण बाहेक अन्य सबै उपचार अहिले भेरी अस्पतालमा सम्भव छ ।’ उनी आइसकेपछि भेरी अस्पतालमा पेट सम्वन्धी समस्या भएका करिव दुई सय बिरामीको शल्यक्रिया भइसकेको छ । सुरुसुरुमा उनी एक्लैले शल्यक्रिया गर्थे ।

 

 

वरिष्ठ कन्सल्टेन्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा कृष्णमोहन अधिकारी 

उनलाई एमएस जनरल सर्जन डा सन्तोष श्रीपाइलीले सघाउथे । करिव दुई महिना भयो डा प्रदिप थापा पनि थपिएका छन् । ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा थापा आएदेखि भने डा अधिकारीलाई धेरै सहज भएको छ । ‘भेरी अस्पतालको ग्याष्ट्रो विभागमा प्राय जसो जटिल खालका शल्यक्रियाहरु भइरहेका छन् डा अधिकारी भन्छन्–‘पाँच वटा त विप्लेस सर्जरी भइसक्यो । जो अत्यन्तै जटिल मानिन्छ ।’ जनशक्तीका हिसावले अहिले भेरी अस्पतालको ग्याष्ट्रो विभाग अब्बल छ । तर केही महत्वपूर्ण उपकरणको भने खाँचो छ । ल्याप्रोस्कोपिक सेट, हार्मोनिक लगायतका उपकरण भए शल्य सेवा थप स्तरीय र छिटोछरितो हुने डा अधिकारी बताउँछन् ।

शब्दः प्रियास्मृति ढकाल

तस्विरः समिरमान श्रेष्ठ

  • १५ बैशाख २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech