कान्ति आरोग्य अस्पतालमा पेटको क्यान्सर भएका बिरामीको चार घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०८२, आईतवार

नेपालगन्जः नेपालगन्जस्थित कान्ति आरोग्य अस्पतालमा पहिलोपटक पेटको क्यान्सरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । बर्दिया मधुवन नगरपालिका–६ बुद्धनगरका ७८ वर्षीय थिरलाल शर्माको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । शल्यक्रियाको नेतृत्व गरेका ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डा कृष्ण मोहन अधिकारीका अनुसार सरकारी भेरी अस्पतालबाहेक अन्य नीजि अस्पतालमा पेटको क्यान्सरको शल्यक्रिया गरिएको नेपालगन्जमा पहिलो हो ।

आमाशयको मुख्य काम निलिसकेको खानेकुरालाई भण्डारण गरी आवश्यक तत्व ग्रहण गर्ने हो । सानो आन्द्राले महत्वपूर्ण खानेकुरा पचाएर ठूलो आन्द्रामा दिसा भण्डारणका लागि पठाउने काम गर्छ । तर कुनै कारणवश हामीले खाएको खानेकुरा टुक्राउन र पचाउन मद्दत गर्ने आमाशयमा हुने कोष अनियन्त्रित रुपमा बढेर गएमा क्यान्सरको रूप लिन सक्छ । जसलाई पेटको क्यान्सर भनेर बुझिन्छ । यो क्यान्सर आमाशयको माथि, बीच वा तल जुनसुकै भागमा हुनसक्छ । सबैभन्दा बढी माथिल्लो भागमा देखिने चिकित्सकहरु बताउँछन् ।

गत पुष महिनादेखि शर्मालाई रक्तअल्पताको समस्या देखिएको थियो । उनको शरीरमा रगतको मात्रा एक्कासी घटेपछि त्यतिबेला बर्दिया अस्पतालमा ४ पिन्ट रगत चढाइएको थियो । खाना खान मन नलाग्ने, चक्कर लाग्ने, कालो दिसा आउने लगायतका लक्षण चिन्ह पनि उनलाई देखिएका थिए । रगत चढाइएपछि केही सुधार भएको जस्तो देखियो । तर सन्चो भएन । फेरी रगतको मात्रा घट्न थाल्यो ।

तस्विरः शल्यक्रियापछि ९ दिन अस्पताल बसेका बिरामीको आज डिस्चार्ज गरिएको छ । डिस्चार्ज अघि बिरामीको अवस्थाबारे जानकारी लिँदै डा कृष्ण मोहन अधिकारी ।

इन्डोस्कोपी र बायोप्सी गरेपछि शर्माको पेटको क्यान्सर भएको पुष्टि भएको डा अधिकारी बताउँछन् । गएको वैशाख ६ गते कान्ति आरोग्य अस्पतालमा ३ पिन्ट रगत चढाएर शर्माको सफलतापूर्वक शल्यक्रिया गरिएको उनले बताए । डा अधिकारीको नेतृत्वमा ग्याष्ट्रो सर्जन डा प्रदिप थापा, एमएस जनरल सर्जन डा सन्तोष श्रीपाइली, एनेस्थेसियामा डा विवेक पौडेल र डा दिपेन्द्र महासेठ, त्यसैगरि प्रेम, टीका र हेमराज सम्मेलित टिमले करिव ४ घण्टा लगाएर शल्यक्रिया गरेको हो । शर्माको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनका ज्वाइँ नाता पर्ने विष्णु ढकालले बताए । शर्माको आज डिस्चार्ज गरिएको अस्पतालका संचालक डा.रोमा बोराले जानकारी दिइन् ।

कान्ति आरोग्य अस्पतालका संचालक समेत रहेकी बरिष्ठ बालरोग विशेषज्ञ डा.रोम बोरा ।

कान्ति आरोग्य अस्पतालमा पेट सम्वन्धी यस्ता जटिल खालका शल्यक्रियाहरु भइरहेको उनले बताइन् । कान्ति आरोग्य अस्पतालमा दूरविन प्रविधिबाट हर्नियासँगै पित्तथैली, एपेन्डिक्स, हाइड्रोसिल, पाठेघर लगायतका शल्यक्रिया हुँदै आएको अस्पताल सञ्चालक समेत रहेकी वरिष्ठ बालरोग विशेषज्ञ डा.रोमा वोरा बताउँछिन् । त्यसैगरी पाइल्स, फिस्टुला, शरीरका विभिन्न भागको गाँठागुठीको चेकजाँच तथा शल्यक्रिया सेवा दिँदै आएको छ । कान्ति आरोग्य अस्पतालले २४ सैं घण्टा इमरजेन्सी, ल्याव, फार्मेसी सेवा पनि प्रदान गर्दै आएको छ ।

  • १४ बैशाख २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech