खजुरा क्यान्सर अस्पताल महिनादेखि प्रमुख विहीन, औषधीको अभाव हुन थाल्यो, प्रमुख खोज्दै मन्त्रालय

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०८२, आईतवार

नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल प्रमुख विहीन भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.प्रकाश प्रसाद साहको एक महिना अघि सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल प्रमुख विहीन भएको हो ।

अहिले निमित्त निर्देशकको जिम्मेवारी अस्पतालकै डा.प्रविण गुप्तालाई प्रदान गरिएको छ । उनलाई आर्थिक अधिकार दिइएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यकारी निर्देशक पठाउन ढिलाई गरेका कारण अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको छ ।

कर्मचारीहरुले तलव खान पाएका छैनन् । रिएजेन्ट, केमिकल र औषधीको अभाव हुन थालेको छ । प्रयोगशाला सेवा प्रभावित हुन थालेपछि त्यसको मार बिरामीलाई पर्न थालेको छ । बिरामीहरुलाई चेकजाँचका लागि बाहिर पठाउनु पर्ने बाध्यता हुन थालेको छ । यसले बिरामीहरुलाई आर्थिक भार थपिने स्थिति उत्पन्न भएको छ ।

त्यसैगरी अस्पतालका भौतिक पूर्वाधार निर्माणका काम पनि प्रभावित हुन थालेका छन् । डे केयर भवन, अस्पताल फार्मेसी, ल्याव भवनको निर्माण कार्य पनि प्रभावित हुन थालेको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा भेरी अस्पतालमै कार्यरत सिनियर चिकित्सकलाई जिम्मेवारी दिएर पठाउने तयारीमा थिए ।

तर अस्पतालको लिन्याक मेसिन खरिद लगायतको दायित्व कायमै रहेकाले अनावश्यक झन्झटमा फस्ने भयले क्यान्सर अस्पतालको बागडोर सम्हाल्न इच्छा देखाएका छैनन् । ‘क्यान्सर अस्पतालको प्रशासनिक जिम्मेवारी सम्हाल्दिनु पर्यो भनेर मन्त्रालयबाट आग्रह नआएको होइन एक जना प्रमुख कन्सल्टेन्ट चिकित्सकले स्वास्थ्य पेजलाई भने–‘आर्थिक रुपमा दलदलमा फसेको क्यान्सर अस्पतालमा गएर सुधारको कुनै गुन्जायस देखिएन ।’

मन्त्रालयले अहिले क्यान्सर अस्पतालका लागि कार्यकारी निर्देशक खोजिरहेको स्रोतले बतायो । ‘सकेसम्म काँग्रेस समर्थित चिकित्सकको खोजि भइरहेको छ, स्रोतले भन्यो–‘नभए गठबन्धन दलमा आवद्ध विचारधारा मिल्ने योग्यता पुगेको चिकित्सक हुनु पर्यो । मन्त्री ज्यू आफ्नो निर्देशन र रफ्तारमा काम गर्ने चिकित्सकलाई जिम्मेवारी दिएर पठाउने तयारीमा हुनुहुन्छ ।’

  • १४ बैशाख २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech