नेपालगन्ज: बाँकेको जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो ।
शनिबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष छब्बन खाँले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै त्यसका लागि समुदायस्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न र आउने वर्षमा जानकी गाउँपालिकालाई पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने तरिकाले काम गर्न समेत निर्देशन दिएका थिए ।
गाउँपालिका अन्तर्गत जन्मेदेखि १५ महिनासम्मका जम्मा ९३४ बालबालिका मध्ये छुटेका २२५ जना बालबालिकाले नियमितरुपमा पूर्ण खोप लगाई सुन्यमा झारी सकेपछी मात्र सतप्रतिशत पूर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख दल वहादुर रानाले बताए ।
स्वास्थ्य कार्यालय बाँकेले जानकीलाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेको थियो भने पालिकाको ६ वटै स्वास्थ्य चौकीलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिक रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष पनि घोषणा गरिएको हो ।
जनस्वास्थ्य निरीक्षक तमलाल बेलवासेले सन्चालन गरेको घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिन अहमद अन्सारी , स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठ, वडाध्यक्षहरु चन्द्रिका प्रसाद गुप्ता,टिकानाथ यादव, जगदिश प्रसाद हरिजन लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको पालिकाका प्रेस सल्लाहकार रबिन्द्र घिमिरेले जानकारी दिए ।