नेपालगन्ज: नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको छैठौं जिल्ला अधिवेशन नेपालगन्जमा सुरु भएको छ । अधिवेशनको शनिबार नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले उद्घाटन गरे । सहमहामन्त्री राठौरले पेशागत जिम्मेवारीमा इमानदार हुन स्वास्थ्यकर्मीलाई सुझाव दिए ।
उनले भने-`देशमा केही भएको छैन भनेर गुनासो मात्र गर्ने हैन । आफ्नो जिम्मेवारी पनि पूरा गर्नुस् । कुरा गरेर देश बन्दैन ।काम गर्नुस् ।´उनले काम नगरे देश नबन्ने बताए । उनले हरेक क्षेत्रमा कामको मुल्यांकन हुनु पर्ने बताए । तर नेपालमा कामको मुल्यांकन गर्ने परिपाटी नभएको पनि उल्लेख गरे ।
यस्तै नेपाली काँग्रेस बाँकेका सभापती नारायण प्रसाद गौडेलले स्वास्थ्यकर्मीहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र बिस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले संघले गर्ने नीतिगत तथा संस्थागत मागलाई काँग्रेसले सम्बोधन गर्ने प्रतिवद्वता जनाए ।
उनले स्वास्थ्यकर्मीको सुखदुःखमा काँग्रेस संगै रहेको पनि बताए । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका सबै पालिकामा बिस्तार गर्दै चलायमान देखिएकोमा खुसी व्यक्त गरे ।
संघीय सरकारले तत्काल निजामती तथा स्वास्थ्य ऐन जारी गरेर कर्मचारीहरुको मागलाई सम्बोधन गर्नु पर्ने सभापति गौडेलको भनाइ छ ।
संघका जिल्ला अध्यक्ष टेकबहादुर केसीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा लुम्बिनी प्रदेश सभा सदस्य शुशिला नेपाली, प्रदेश सभा सदस्य मीना सिद्दिकी, नेपाली काँग्रेस लुम्बिनी प्रदेश स्वास्थ्य बिभाग प्रमुख अन्जना पाण्डे, नेपाली काँग्रेसका महासमिति सदस्य यमबहादुर खड्का, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय उपमहासचिव हरिहर तिवारीले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य देवेन्द्र केसी, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य बिष्णु लामिछाने, ट्रेड युनियन काँग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजेन्द्र बिक, स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष लोकेन्द्र चन्द, हेल्थ असिस्टेन्ट लुम्बिनी प्रदेश संयोजक अनिल सेन ठकुरी, निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष नगेन्द्र शाही, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पनि शुभकामना मन्तव्य दिए।
स्वागत मन्तव्य स्वास्थ्यकर्मीका जिल्ला उपाध्यक्ष दुर्गा गौतम गरिन् भने संचालन भने कार्यबाहक सचिब तेज ओलीले गरेका थिए ।