के फरक छ अंग दान र शरीर दानमा ?

    • स्वास्थ्य पेज

  • १० बैशाख २०८२, बुधबार

काठमाडौंः शरीर दानका विषयमा नेपाली समाजमा बेलाबेला निकै चर्चा हुन्छ । तर यसका बारेमा धेरैलाई कम जानकारी भएको पाइन्छ । गत आइतबार निधन भएका वरिष्ठ पत्रकार भैरव रिसालको शरीर पाटन अस्पताललाई हस्तान्तरण गरिएपछि यसको प्रयोगका विषयमा धेरैको जिज्ञासा देखिन्छ ।

उनले २०६८ सालमै आफ्नो शरीर पाटन अस्पतालाई दान गरिसकेका थिए । अब उनको शरीरको प्रयोग कसरी हुन्छ त ? अंग दान र शरीर दानमा फरक के ?

नेपालमा अंग दान गर्ने मानिसको संख्या बिस्तारै बढिरहँदा शरीर दानको विषय भने उति प्रचारमा आएको छैन । हालै वरिष्ठ पत्रकार भैरव रिसालको निधनपछि भने फेरि एकपटक शरीर दानको प्रसंग सतहमा आएको छ । रिसालले आफू स्वस्थ रहँदै शरीर मरणोपरान्त दान गर्ने गरी इच्छापत्रमा सहमति जनाएका थिए ।

व्यक्तिले आफू स्वस्थ छँदै विभिन्न अंग आवश्यक पर्ने बिरामीका लागि प्रयोग गर्न सकिने गरी अंग दान गर्न सक्छ । व्यक्तिको मस्तिष्क मृत्यु भएको खण्डमा परिवारले चाहेमा पनि अंग दान हुन सक्छ । अंग प्रत्यारोपण नियमित तथा निषेध गर्ने ऐनले अंग दानको व्यवस्था गरेको छ ।

कानुनअनुसार नेपालमा मिर्गौला, फोक्सो, मुटु, कलेजो, आमासय र सानो आन्द्रा गरी ८ वटा अंग दान गर्न मिल्छ । तर नेपालमा मिर्गौला र कलेजो मात्र प्रत्यारोपण हुने गरेको छ ।

तर शरीर दानको प्रक्रिया भने केही फरक छ । शरीर दानसम्बन्धी व्यवस्था मुलुकी देवानी संहिताको दफा ३८ मा गरिएको छ । यो दफाको उपदफा १ मा ‘कुनै व्यक्तिले आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अंग वा त्यसको कुनै अंश खास कामका लागि प्रयोग गर्न वा गराउन कसैलाई दान दिने गरी लिखित रूपमा इच्छा व्यक्त गर्न सक्नेछ’ भनिएको छ ।

सामान्यतस् मेडिकल शिक्षा अध्ययनमा यसरी दान गरिएको शरीर प्रयोग हुन्छ । अंग दान गरेकै व्यक्तिले पनि यसरी शरीर दान गर्न सक्छ । भैरव रिसालको शरीर भने पाटन अस्पताललाई हस्तान्तरण गरिएको छ । यो शरिर अध्ययन तथा अनुसन्धानमा प्रयोग हुनेछ ।

भैरव रिसाल बाहेक यसअघि शताब्दीपुरुष सत्यमोहन जोशी, कवि तथा लेखक क्षेत्रप्रताप अधिकारी लगायतले पनि शरीर दान गरेका थिए । तर हालसम्म कति व्यक्तिले शरीर दान गरे भन्ने यकिन तथ्यांक भने छैन । पाटन अस्पतालका लागि भने रिसालले आफू जीवित हुँदै गरेको पहिलो शरीर दान हो । यसअघि अध्ययन अनुसन्धान प्रयोजनमा बेवारिसे शवहरू प्रयोग हुँदै आएका छन् ।

नेपालमा शरीर दान सम्बन्धी कानुन ढिला गरी बने पनि अंगदान सम्बन्धी कानुन भने २०५५ सालमै बनेको हो । त्यसलाई २०७२ सालमा संशोधन गरिए पनि मस्तिष्क मृत्युबाट अहिलेसम्म जम्मा ५ जनाबाट १० जनालाई मिर्गौला र ३ जनाको कलेको प्रत्यारोपण भएको छ ।

शरीर दान र अंग दानबारे अझै सचेतना पुगेको छैन । त्यही कारण मृत्युपछि अंग दान तथा शरीर दान गर्नेको संख्या बढ्न नसकेको हो ।

  • १० बैशाख २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech