नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

    • स्वास्थ्य पेज

  • ५ बैशाख २०८२, शुक्रबार

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीसँग स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन् ।

अबुधाबीमा त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री पौडेलले श्रमिकको स्वास्थ्यका लागि सहयोगको अपेक्षा गरेको बताए ।

उनले श्रमिकको स्वास्थ्य रक्षाका लागि सरकारले चालेको कदममा युएई सरकारबाट सहयोगको अपेक्षासमेत राखेका थिए ।

मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटल प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य बीमा प्रणाली लागु गर्न चाहेको भन्दै नेपालमा मिर्गौला डायलासिस केन्द्रको स्तरोन्नति र विस्तार तथा अङ्ग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरे ।

युएईका स्वास्थ्य विभाग अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न तत्पर रहेको र दुई देशबिच सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्नु आवश्यक रहेको बताए ।

उनले युएईमा रहेका नेपाली श्रमिकको प्रशंसा गर्दै नेपालसँगको सम्बन्धलाई अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन युएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार भएको तर यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानुनी आधार तयार हुनु आवश्यक रहेको बताए ।

भेटमा नेपाली राजदूत तेजबहादुर क्षेत्रीसमेत सहभागी थिए । मन्त्री पौडेल आइतबार आयोजना हुने नेपाल फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने दूतावासले जनाएको छ।

  • ५ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech